चितवन, १२ पौष । भरतपुर महानगरपालिका ४ लंकुमा करिब ३ करोड लागतमा गुरुकुलको छात्रावास निर्माण गरिने भएको छ । श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठान (गुरुकुल) को छात्रावास भवनको आइतबार शिलान्यास गरिएको छ । अनुमानित ३ करोड १ लाख लागतमा २४८५ वर्ग फिट क्षेत्रफलमा २४ कोठा र तीनतलाको छात्राबास निर्माण हुने गुरुकुलका प्राचार्य डा.लक्ष्मीनाथ कंडेलले जानकारी दिनुभयो ।
वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीको प्रमुख आतिथ्यमा भवन शिलन्यास भएको हो । वाग्मती प्रदेश सभा सदस्य सुवेदीले एक पूर्ण मानव बन्नका निम्ति संस्कृत शिक्षाको आवश्यकता औंल्याउनुभएको छ । छात्रावास निर्माणका लागि तत्कालका लागि प्रदेश सरकारबाट ३० लाख रकम छुट्ट्याइएको र गुरुकुल विकासका लागि आगामी दिनहरूमा पनि सरकारबाट सहयोग दिलाउन आफुले पहल गर्ने सुवेदीले बताउनुभयो ।
गुरुकुलका विद्यार्थीहरूद्वारा गरिएको स्वस्तिवाचन एवम् गुरुकुल संचालक समितिका अध्यक्ष यमलाल कंडेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा छात्रावास भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हीरामणि खरालको सभापतित्वमा सम्पन्न भएको थियोे ।