प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ, सुरक्षा सतर्कता बढाइयो

२०७७ असोज १८ गते १३:२४ लक्की चौधरी

 असोज १७ ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जना सदस्यलाई शनिबार कोरोना संक्रमण देखिए पनि उहाँको कोरोना परीक्षण प्रतिवेदन नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीको गत बुधबार स्वाव संकलन गरिएको थियो ।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओलीको बुधबार स्वाव संकलन गरी विहिबार रिपोर्ट आएको थियो । फेरि स्वाव संकलन गरिएको छैन । सचिवालयका सदस्यहरुमा कोरोना पोजेटिभ देखिएपछि उहाँको सुरक्षा सतर्कतामा ध्यान दिइएको सञ्चारविज्ञ बजगाईले बताउनुभयो ।

यसअघि प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि सचिवालयका सदस्यहरुको परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।