लगातारको वर्षाको कारण गैँडाकोट का विभिन्न ठाउँमा डुबान।

२०७७ असोज ८ गते १६:३१ गैंडाकोट खबर

 

असोज ८,गैँडाकोट। गैँडाकोट नगरपालिका वडा नम्बर २,४,५ र ८ मा दीर्घकालीन निकास नहुँदा लगातार रुपमा पानी पर्नासाथ बस्ती क्षेत्र डुबानमा पर्ने गरेको छ । जसका कारण नागरिकहरुले हरेक वर्षायाममा सास्ती खेप्दै आएका छन् । लगातार परेको वर्षाबाट विभिन्न स्थानमा जम्मा भएको पानी र अन्य स्थानबाट आएको भल निकास गर्ने गैँडाकोटमा उचित नाला नभएकै कारण यस्तो अवस्था आएको हो ।

गैंडाकोटमा विकासका नाममा भलको व्यवस्थापन गर्नकालागि नालाको निर्माण नगरी बाटो कालोपत्रे भएकाका कारण पनि भलको समस्या बल्झीदै गएको स्थानीयहरु बताउँछन् । सडक विस्तार भएका छन् तर पानी पर्दा निकास छैन । पूर्व–पश्चिम राजमार्ग विस्तारसहित निर्माणको चरणमा छ तर पानी पर्नासाथ टालिएका ह्युम पाइप र कटान गर्न मिल्ने स्थानमा डोजर लगाएर पानी निकासको कार्य अघि बढाइए पनि यो दीर्घकालीन समाधानको उपाय नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।

निकासका लागि सडक खन्ने र भत्काउने कार्य गरिएको छ । यसले विकास भन्दा पनि विनाश निम्त्याएको स्थानीयको बुझाइ रहेको छ । विकासका योजना निर्माण र अव्यवस्थीत सहरीकरणका कारण डुबानमा परेको स्थानीयको तर्क छ । भलको समस्या समाधान गरी आजभन्दा पनि भोलिका दिनमा आइपर्ने समस्या समाधानतर्फ योजना केन्द्रित गर्न   तर्फ सम्बन्धीत निकाएको ध्यान केन्द्रित होस ।