क्वारेन्टिन होटलको सूची तथा मूल्य सार्वजनिक

२०७७ भदौ ५ गते १२:४७ रासस / अशोक घिमिरे

(साङ्केतिक तस्बिर)

५ भाद्र , काठमाण्डौ ।सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ ।

विभागले क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ । पाँच तारे होटलमा एकल रु नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति रु छ हजार तोकिएको छ । यस्तै चारतारे होटलमा एकल रु आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको रु छ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति रु पाँच हजार, दुई तारेमा एकल रु पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति रु तीन हजार ५००, एकतारेमा एकल रु चार हजार र दुई जना भएमा प्रतिव्यक्ति रु दुई हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल रु दुई हजार ८०० र दुई जना भएमा प्रतिव्यक्ति रु एक हजार ८०० शुल्क तोकिएको छ ।

पर्यटकस्तरको होटलका लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकिएको छ । पर्यटकस्तरको होटलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ । तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ ।

सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ । त्यसरी विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तीमा पनि एक साता होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।