मुकुन्दसेन युवा क्लब को पहलमा गरीब विपन्न एक परिवारलाई घर उपहार

२०७७ भदौ २ गते ७:४९ Flashkhabar

३२ साउन,गैँडाकोट। मुकुन्दसेन दरवार नजिक गैंडाकोट ३ मा रहेका थमन सिँह आले र उहाँको श्रीमती कुमारी आलेको घर परिवारलाई नयाँ घर बनाइदिएर मुकुन्दसेन युवा क्लवले  शनीबार   हस्तान्तरण  गरेको छ।

सानो झुपडीमा ४ जना परिवारका सदस्य वस्दै आएको दयनीय अवस्था देखेपछि गैंडाकोट १०,११, १२ का सामाजिक व्यक्तित्व सहितको सहयोगमा युवा क्लवका पदाधिकारी तथा सदस्यहरुको सक्रियतामा टिनको घर वनाई हिजो हस्तान्तरण गरिएको क्लवका अध्यक्ष नरेश काफ्ले जानकारी दिनुभयो ।

दरवार अवलोकन सहित त्यहाँ मन्दिर निर्माण गर्न पुगेका क्लवका सदस्य सहित सामाजिक व्यक्तिहरुले ओत लाग्न जाँदा छानो चुहिएर वस्न पनि नमिल्ने र झुपडीभित्रै पानी पसेको देखेपछि जसरी पनि घर वनाइदिने अठोटका साथ युवा क्लव लागेको थियो ।

घर निर्माणमा युवा कृषक विष्णु भट्टले टिन सहयोग गर्नुभएको थियो भने टिकाराम गैरेले पनि टिन सहित घर निर्माणमा थप हौसला प्रदान गर्नुभएको क्लवले जनाएको छ । गैडाकोट ३ को कालिगण्डकी सामुदायिक वनले काठ, युवा क्लवले श्रम दिएर निर्माण गरेको थियो । त्यसमा स्थानीय, विभिन्न वडाका वडाअध्यक्ष लगायतको पनि सहयोग रहेको क्लवका सचिव वासुदेव गैरेले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने सवैलाई सम्मान गरिएको थियो ।

घर निर्माणमा श्रमदान गर्नुभएका युवा क्लवका सदस्य प्रकाश गौडेलले काठ वोक्दा काँधको छाला गएको अझै नपुरिएपनि आले परिवारमा देखिएको खुशीले सवै पीडा भुलेको बताउनुभयो । सवै साथीहरुको उत्कृष्ट सकृयताले गरिव परिवारमा हाँसो दिन पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

नयाँ घर पाएपछि आले परिवारको खुशीले सीमा नाघेको छ । आँटी सहितको व्यस्थित घर पाएपछि हावाहुरी आउँदा पनि ढुक्कले वास पाएको बताउँदै युवा क्लव सहित सहयोगीहरुलाई धेरै धेरै धन्यवाद दिएका थिए ।