उद्योगपति विनोद चौधरी द्वारा कोरोना अस्थाई अस्पतालको अनुगमन तथा आवश्यक सहयोगको प्रतिबद्धता ।

२०७७ साउन ३२ गते १०:४८ gaindakotkhabar.com

३२ साउन, रजहर । सामुदायिक प्राकृतिक चिकित्सालय (हालको कोरोना बिशेष अस्थायी अस्पताल)देवचुली १६ रजहरमा उद्योगपति बिनोद चौधरीले निरिक्षण गर्नु भएको छ । जिल्लाका ३ सय बढी संक्रमितलाई निको बनाइसकेको चिकित्सालयको बारेमा धेरै सुनेको र प्रत्यक्ष भ्रमण गर्न चाहेकोले चिकित्सालय परिसरमै पुगेर अवस्थाबारे बुझेको बताउनु भयो ।

उद्योगपति चौधरीले चिकित्सालयको लागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो । चिकित्सालयको हालको बगैंचा चौधरीबाटै निर्माण गरिएको हुनाले यसको व्यवस्थापनमा प्राविधिक र आवश्यक थप सहयोग गर्ने समेत बताउनु भयो । चिकित्सालयमा रहेको गाई फर्म गौशाला व्यवस्थापनका लागि आर्थिक सहयोग पनि उपलब्ध गराउने बताउनु भयो ।

चिकित्सालयको विकासमा आफूले मात्र नभइ अन्य दातृ निकायलाई समेत जोडेर चिकित्सालयको विकासमा विशेष भूमिका खेल्ने उनको भनाई थियो । स्थापनाकालदेखि आफू चिकित्सालयको हरेक गतिविधिमा सरिक हुन पाउँदा खुशी लागेको र उद्योगपति एवं व्यवसायीलाई समेत जोडेर चिकित्सालयको विकासमा सहयोग गर्ने बताउनु भयो ।

चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले चिकित्सालयको आइसोलेसनमा अहिले उपचाररत १० कोरोना संक्रमितको अवस्थाबारे जानकारी गराउनु भएको हो ।