सवारी चालक र स्थानीय पैदल यात्रीहरुलाई गैंडाकोटको भृकुटिचोकमा मास्क वितरण

२०७७ साउन २६ गते १६:५९ हिमालदेव पंगेनी


 २६  साउन ,गैंडाकोट ।  पुर्व पश्चिम राजमार्ग प्रयोग गर्ने सवारी चालक र स्थानीय पैदल यात्रीहरुलाई  आज (आइतबार) गैंडाकोटको भृकृटिचोकमा मास्क वितरण गरिएको छ । पछिल्लो समय कोरोनाको प्रभाव बढ्दै गएको र मास्कले संक्रमण रोक्न केही हदसम्म सहयोग गर्ने भएकोले मास्कको वितरण गरिएको उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । उद्योग बाणिज्य संघ नवलपरासी र जिल्ला ट्राफीक प्रहरी कार्यालय नवलपुरको संयुक्त आयोजनामा गरिएको मास्क वितरण कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै उद्योग वाणिज्य जिल्ला संघका अध्यक्ष अमृत भट्टचनले सर्वसाधारणलाई कोरोनाबाट जोगाउनका लागि सहयोग पुग्ने भएकोले पनि यो मास्क वितरण गरिएको बताउनुभयो ।

मास्क वितरण सांकेतिकरुपमा मानिसहरुलाई मास्कको महत्व दर्शाउन सकिने भएकोले पनि मास्कको वितरण गरिएको बताउनुभयो । त्यसैगरी उहाँले सबै आम सर्वसाधारणलाई मास्कको प्रयोग गरि आफु र अरुलाई कोरोना महामारीबाट बचाउनका लागि आ–आफ्नो स्थानबाट लाग्न आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै जिल्ला ट्राफीक कार्यालय नवलपुरका प्रमुख मुनेन्द्र थापाले कोरानाबाट बच्नका लागि मास्कको प्रयोग गर्न सबैलाई आग्रह गर्दै मास्क किन्न नसक्नेहरुलाई निशुल्क वितरण गर्न जनप्रतिनिधिमुलक संस्थाहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष एवं उद्योग बाणिज्य संघ उपाध्यक्ष नवराज कंडेलले मास्क किन्न नसक्नेहरुलाई मास्क वितरण गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, उद्योग बाणिज्य संघका पदाधिकारीहरु लगायत युवा अभियन्ताहरु र पत्रकारहरुको सहभागितामा दुई हजार भन्दा बढी मास्क वितरण गरिएको थियो । सोही अवसरमा मास्क वितरण गरेकोमा रुपन्देहीका सवारी चालक थनिराम चौधरीले धन्यवाद दिदैं विशेष गरी चालकहरुलाई मास्कले संक्रमणबाट जोगिन सहयोग गर्ने बताउनुभयो । त्यस्तै पैदल यात्री गैडाकोट ४ की चन्द्रमाया शर्माले मास्क किनेर लगाउन नसक्नेलाई मास्क दिएकोमा धन्यवाद दिदै गरिव तथा विपन्न वर्गका मानिसहरुलाई मास्क वितरण गर्न आग्रह गर्नुभयो । सो वितरण कार्यक्रम उद्योग बाणिज्य जिल्ला संघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा र महासचिव छवि कंडेलले सहजीकरण गर्नुभएको थियो ।