किसान साकोस् गैडाकोटद्वारा नगरलाई स्वास्थ्य सामग्री प्रदान

२०७७ साउन २२ गते ३:२८ गैंडाकोट खबर

२१ साउन, गैँडाकोट।   किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले गैंडाकोट नगरपालिका लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । सहज सेवा केन्द्रमा आयोजना गरिएको एक विशेष कार्यक्रममा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्री अन्तरगत ६ वटा विरामी सुत्ने बेड प्रदान गरिएको हो । गैंडाकोट नगरपालिका वडा न.४ सहज सेवा केन्द्र परिषरमा भएको कार्यक्रममा किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसेले गैंडाकोट नगर पालिका का नगर प्रमुख छत्र राज पौडेल लाई प्रदान गर्नुभएको थियो । पछिल्लो समय कोरोना महामारीका विरुद्धको अभियानमा नगरलाई नगद १ लाख ४१ हजार नगद प्रदान गरेको किसान साकोसले गैंडाकोट नगरका जनतालाई स्वास्थ्य उपचार को क्रममा बेडको अभाव नहोस भन्ने उद्देश्यले ६ वटा बेड प्रदान गरिएको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले बताउनु भयो।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत कोरोनाको महामारी विरुद्ध को अभियानमा जुट्न सहज होस भन्ने मनसायले संस्थाको एम्बुलेन्सले पनि नगर लाई सञ्चालन गर्न दिईएको अध्यक्ष चालिसेले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष चालिसेको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका प्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनु भएको थियो । सो कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी नगर प्रमुख पौडेलले किसान साकोस ले नगरको अभियानमा सँधै सहयोग गर्दै आएकोमा धन्यवाद दिनुभयो । त्यसैगरी कार्यक्रममा साकोसका अध्यक्ष चालिसेले आफ्नो संस्थासँग धेरै मूल्यवान स्वास्थ्य सामग्री हरु रहेको र आवश्यकताको सिद्धान्त को आधारमा नगरलाई प्रदान गर्दै जाने बताउनु भयो । संस्थाले समाजका विभिन्न क्षेत्रमा विशेष योगदान गर्दै आएको र आगामी दिनमा पनि विशेष भूमिका निर्वाह गर्दै जाने प्रतिवद्वता समेत सो अवसरमा व्यक्त गर्नुभयो । किसान साकोसका पूर्वअध्यक्ष तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा , सहज फाउन्डेसनका डिल्ली सिग्देल , साकोसको सहज केन्द्रको व्यवस्थापन समितिका सदस्यहरु, कर्मचारीहरू र प्रत्रकारहरूको उपस्थित रहेको सो कार्यक्रमको तीर्थ रिमालले सहजीकरण गर्नु भएको थियो ।