“कोरोना भाइरसबाट जोगिन अपनाउनै पर्ने उपायहरु”

२०७७ असार २८ गते ८:४० डा. सुनिल सापकोटा

 

रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्न नदिनु नै बेस भन्ने उखान कोरोना भाइरस को बारेमा पनि एकदमै लागू हुन्छ। कोरोना भाइरसको रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ, किनकी यसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। अर्कोतिर यो भाइरसको vaccine र औषधि पत्ता लागिसकेको छैन । यस्तो अवस्थामा यो भाइरस हामी हरु माझ लामो समयको लागि रहनसक्छ, तसर्थ यो भाइरस संग जोगिनु नै बुद्धिमानी हो । रोकथामका उपाय हरूको साथमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु पनि अति आवश्यक छ । यो महामारीको अवस्थामा मानसिक तनाव पनि ठूलो समस्या बन्दै गईरहेको छ तसर्थ तनाव व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ। स्वस्थ मान्छेमा भन्दा पहिलादेखि नै कुनै पनि दिर्घ रोग  लागेको व्यक्तिमा यो भाइरस छिट्टै समात्ने र रोग लागेपछि जटिल समस्याहरु देखिनसक्ने हुनाले हाम्रो सम्पूर्ण स्वास्थ्यको ख्याल राख्नु अति नै जरुरी हुन्छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन ,शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन ,तनाव व्यवस्थापन गर्न तथा आफ्नो सम्पूर्ण स्वास्थ्यको ख्याल राख्न निम्नलिखित उपायहरू अपनाउन सकिन्छ।

१:सरसफाइमा ध्यान दिउँ

* बारम्बार साबुनपानीले हात धुने गरौँ।

* हात धुदा कम्तिमा पनि २०  सेकेन्ड सम्म हात को सबैतिर पर्नेगरी मिचिमिची धुने गरौँ।

* हातले नाक मुख अथवा आँखा नछुने गरौं ।

* हाच्छिउँ गर्दा कुहिनोले नाक र मुखलाई छोप्ने गरौं ।

* बाहिरबाट घरमा फर्केपछि सरसफाईमा विशेष ध्यान दिने गरौं।

* सार्वजनिक स्थानका कुनै पनि वस्तु छोएपछि साबुन वा सेनिटाइजर ले हात सफा गरौं।

२: सामाजिक नियमहरूको पालना गरौं।

* अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्कने ।

* आफ्नो कामकाजमा जानु पर्ने भएमा सुरक्षाका सबै उपायहरु अपनाउने।

* घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने।

* भिडभाडबाट बचौं किनकी यो महामारी फैलाउने प्रमुख कारकतत्व हो।

* सार्वजनिक ठाउँमा तथा भिडभाड मा जानु पर्ने नै भए कम्तीमा १/२ मिटरको सामाजिक दूरी कायम गर्ने।

* विवाह, वर्तबन्ध ,जमघट जस्ता धेरै भीड हुने कार्यक्रमहरूमा सहभागी नभएकै राम्रो ,यदि हुनुपर्ने भए सामाजिक दूरी कायम गर्ने र सरसफाईमा ध्यान दिने।

मास्कको प्रयोग : फोहोर हातले मास्क लाई नछुने ।

दैनिक मास्कको सरसफाइ गरेर घाममा सुकाउने।

प्रत्येक दिन नयाँ अथवा धोएर सफा बनाएको मास्कको प्रयोग गर्ने ।

३: स्वास्थ्यको ख्याल गरौं।

* स्वास्थ्य राम्रो भए शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ। रोगप्रतिरोधात्मक क्षमता यो भाइरस संग वच्न तथा लड्नको लागि एकदमै महत्त्वपूर्ण हतियार हो, तसर्थ आफ्नो स्वास्थ्यमा ख्याल गरौं ।

* ज्वरो आएमा, रुघाखोकी लागेमा अथवा अरू कुनै लक्षणहरू देखापरेमा घरमा नै बस्ने ,यदि कोरोनाको शंका लागेमा तुरुन्तै चिकित्सकलाई देखाउने।

* मुटु रोग, दम, मधुमेह तथा कुनैपनि दीर्घरोग छ भने यी रोगीहरूको राम्रो हेरचाह गर्ने ।

* मद्द्यपान  र धुम्रपानको सेवन नगर्ने।

४: खानपानमा ध्यान दिउँ।

* सम्भव भएसम्म घरबाहिर खाना नखाने यदि बाध्यताबस खानै पर्ने भएमा सरसफाइमा विशेष ध्यान दिने।

* पर्याप्त मात्रामा पानी पिउने (उमालेर  राखेको मनतातो पानी) ।

* दैनिक मनतातो दूधमा एक चिम्टी शुद्ध बेसार मिसाएर खाने।

* प्राकृतिक र स्वास्थ्यकर खाना खाने। अस्वस्थ्यकर खाना को त्याग गर्ने ।

* खाना सँग काँचो सलाद खाने ।सलादमा २/३ पोटी लसुन र प्याजलाई अनिवार्य गर्ने।

* प्राकृतिक जडिबुटीहरु को सेवन गर्ने : गुर्जो ,अदुवा ,बेसार ,तुलसी अमला ।

* रोग प्रतिरोधात्मक क्षमता बढाउने खानाहरू : प्राकृतिक खाना, काँचो सलाद ,उमारेका गेडागुडी ,फलफूल, अमिला जातका फलफूलहरु, गेडागुडी, सूर्यमुखीको तथा फर्सीको बियाँ ,गाजर ,हरिया सागपात इत्यादि।

५: योग गरौं ।  दैनिक योगको अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा तनाव व्यवस्थापनमा सहयोग गर्छ। निम्नलिखित योगका अभ्यासहरु गर्न सकिन्छ।

क : आसन : सुक्ष्म व्यायाम, सूर्य नमस्कार , गोनुखासन, नौकासन् , मार्जरीआसन,धनुरासन, त्रीकोणासन, नाडासन, बज्रासन्,शशंकासन ,शवासन्, आदि ।

ख : प्राणायाम: अलुलम – विलोम , भस्त्रिका, कपालभाती, नाडीशुद्धि, भ्रामरी आदि ।

ग : जल नेती (दैनिक), कुञ्जल ( हप्तामा २ पटक )

घ: कुनै पनि ध्यान, योग निद्रा ,भजन कृतन आदि।

६: प्राकृतिक तरिकाहरु:  प्राकृतिक तरिकाहरुले रोग प्रतिरोधात्मक क्षमता वृद्धि  गर्नमा एकदमै सहयोग गर्दछन्।

* सूर्य स्नान  गर्ने  दैनिक रुपमा सम्भव भएसम्म ( बिहान ९ बजेभित्र अथवा बेलुका ५ बजेपछि मात्र ,२० देखि ३० मिनेटको लागि) ।

* मनतातो पानीमा नुन राखेर घाँटी कुल्ला गर्ने( दिनको २ पटक)।

* तातो पानीको बाफ लिने( दिनको १/२ पटक) ।

*उपवास बस्ने ( हप्तामा १ पटक वा १५ दिनमा एक पटक) ।

* बेलुका छिटै सुत्ने तथा बिहान सबेरै उठ्ने।

* ६ देखि ८ घण्टाको निद्रा को आवश्यकता पूरा गर्ने ।

* शारीरिक तथा मानसिक शान्ति मा ध्यान दिने।

* अनावश्यक तथा गलत समचारहरु नसुन्ने।

* Mobile, tv तथा विद्युतीय सामग्रीको प्रयोगमा कम गर्ने ।

* सामाजिक दूरी बनाउनुपर्ने यो अवस्थामा भावनात्मक रुपमा आफ्नो परिवार ,साथीभाई ,नातेदारसँग नजिकै रहने।

र अन्त्यमा , सुरक्षित बनौ, तर नडराऊ।
* अहिले कोरोना को नाममा एकदमै डरत्रास बढ्दै गएको छ । कोरोना भाइरस लाग्दैमा मृत्यु हुने होइन। यदि विश्वको तथ्याङ्क हेर्ने हो भने १०० जनामा यो भाइरस लाग्दा ४/५ जना तथा नेपालमा ४५० जना भन्दा बढीमा लाग्दा १ जनाको मृत्यु भएको पाइन्छ खासगरी यसले ६० वर्ष उमेर काटेका तथा पहिलादेखि नै दीर्घ रोगहरु भएका हरुलाई यो भाइरसले गाल्ने गरेको पाइन्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने ५० वर्ष भन्दा कम उमेर समूहमा यो रोग देखिएको छ तर रोग लागेका मध्ये एकदमै कममा जटिल अवस्था देखिएको छ । ३८ जना मृत्यु भनिएको छ , मृत्यु हुनेमा कोरोना संक्रमण त देखियो तर कोरोना भाइरसका कारणले मृत्यु भएको हो भन्ने अवस्था भने छैन । तसर्थ यसबाट जोगिन यथासम्भव उपायहरु अपनाउनु पर्छ।
यदि कथम कदाचित यो रोग(kovid-19) लागिहाल्यो भने पनि डराउनु पर्दैन किनकि यो रोग लाग्दैमा मरि हालिदैन , यदि यो रोग लागिहाल्यो भने चिन्ता गरेर बस्नुको सट्टा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनतिर लाग्नुपर्छ । किनकि रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा यो रोगमाथि सजिलै तथा छिटो विजय पाउन सकिन्छ ।