कोरोना संक्रमितको मनोवल बढाउन “कोरोनासँग काव्य” साहित्यिक कार्यक्रम सम्पन्न

२०७७ असार २० गते ११:१८ गैँडाकोट खबर संवाददाता

२० असार, रजहर । विश्व नै कोभिड १९ को प्रभावका कारण थलिएको अवस्थामा कोरोना संक्रमितहरुको मनोवल उच्च बनाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न संक्रमितहरूका लागि ‘कोरोनासँग काव्य’ शिर्षकमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालय परिसरमा आज भएको ‘कोरोनासँग काव्य’ कार्यक्रमलाई लायन्स क्लव अफ वाङ्ममययले आयोजना गरेको हो । रजहरको प्राकृतिक चिकित्सालयमा झण्डै २०० जना भन्दा बढी संक्रमितहरुको उपचार भईरहेको छ । जहाँ उनिहरुको मनोवल बढाउन लायन्स क्लव अफ वाङ्मयले कविता र गजलहरु मात्र वाचन गरेन,चिकित्सालयमा उपचार गराइ रहेका सबैलाई साहित्यिक किर्तीहरुपनि वितरण गरिएको थियो । नेपाल मै पहिलोपटक यसरी धेरै संक्रमित हरु को माझमा कार्यक्रम गरिएको हो । आइसुलेशन वार्डहरूमा बसेका संक्रमितहरूले कार्यक्रमको रसस्वादन गरिरहँदा आँफु पोजिटिभ छु भन्ने कुरा पनि विर्सिएको महसुस गरेका थिए, जुन कोभिड १९ बाट मुक्त हुनकालागि अचुक औषधी मध्येको एउटा हो । उक्त कार्यक्रम आईसुलेशन वार्डवाट सजिलैसँग देख्न र सुन्न सकिने गरि सामाजिक दुरी कायम गरी गरिएको थियो।

“कोरोनासँग काव्य” कार्यक्रमको अध्यक्षता रामहरी शर्मा ‘शराह’ ले गर्नुभएको थियो। क्लवका को-चिफ एरिया कोअर्डिनेटर होमनाथ जैशी कार्यक्रमको प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री र डा विनोद पौडेल रहनुभएको थियो । गोर्खे साईलोले संचालन गर्नुभएको कार्यक्रमलाई लायन्स सुजन अधिकारीले सहजिकरण गर्नुभएको थियो ।