थप ७४० सहित सङ्क्रमित संख्या १५ हजार नाघ्याे, ६ हजार १४३ जना डिस्चार्ज भएर घर फर्के ।

२०७७ असार १९ गते १३:४६ gaindakotkhabar.com

असार १९ , काठमाडौँ । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको एक निजी अस्पतालमा उपचारका क्रममा १७ गते राति ११ बजेतिर निधन भएको हो । उच्च रत्तचाप र पार्किन्सनका बिरामी उनी छाती दुख्ने र पिसाब कम भएको भन्दै अस्पताल गएका थिए । आईसीयूको आइसोलेसन सेन्टरमा उपचारका क्रममा मृत्यु भएको र उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।यो संगै  मृतकको संख्या ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ८२३ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।