करिब ४ महिनापछि गैंडाकोटको मोनिका सुन पसल चोरी गर्ने चोरहरु पक्राउ, पत्रकार सम्मेलन गरी आज सार्वजनिक

२०७७ असार १९ गते ७:५३ गैंडाकोट खबर

 १९ असार , गैँडाकोट। करिब४ महिनापछि कांग्रेस चोकमा रहेको मोनिका सुन चाँदी पसलबाट चोरी गरेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, इलाका प्रहरी कार्यालय गैंडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको संयुक्त प्रहरी टोलीले उपलब्ध प्रविधिबाट घटनास्थलमा अनुसन्धानको क्रममा देखिएका शंकास्पद मोवाइल नम्वर तथा जनशक्तिको माध्यमबाट चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको एसपी दिपक रेग्मीले बताउनु भयो ।

प्रहरीले दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका १ स्थाई घर भई ललितपुुर महालक्ष्मी नगरपालिका ५ टिकथली राधा कृष्ण चोक वस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक जिल्ला वाह्रबिसे नगरपालिका वडा नं ३ घर भई भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका ८ वस्ने २८ वर्षीय तिर्थ बहादुर रुम्बा र काभ्रेपलान्चोक जिल्ला धुलीखेल नगरपालिका वडा नं १२ घर भई भक्तपुर जिल्लासुर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने ४० वर्षीय जितबहादुर तामाङलाई पक्राउ गरेको छ ।

घटनाको मुख्य योजनाकार देखि अन्य केही व्यक्ति पक्राउ गर्न वाँकी नै रहेको उहाँले बताउनुभयो । उनीहरुको साथबाट सुनका विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, चोरीकार्यमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोवाईल, फोडिएको अवस्थामा सेफ लकर, प्रदेश ३–०२–०१४ नम्वरको नयाँ स्कुटर एक थान , ठेला रिक्सा १ थान, खैरो रगको कपडाको पाईन्ट एक थान वरामद भएको छ ।
त्यस्तै सेफ फोड्नका लागि गल १, घन १, छिनो २ टेष्टर १ सलाई रेन्ची १ , सानो निलो बाल्टी १, ग्याँस रेगुलेटर सहितको अक्सिजन सिडिण्डर १ र सुन राख्न प्रयोग गरिने ट्र ६ थान वरामद भएको छ । पक्राउ परेकाविरुद्ध असार १४ गतेबाट लागु हुने गरी डाँका चोरी मुद्दामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको काम भईरहेकोे एसपी रेग्मीको भनाई छ । घटनाको अनुसन्धानमा केही समय लागेपनि अव नजिक अजिक पुगेको भन्दै अन्य पनि चाँडै पक्राउ पर्ने बताउनुभयो ।


अनुसन्धानका क्रममा आफू स्वयम् प्रहरीसंग जाँदा प्रहरीले गरेको काम देखेर प्रहरीले अनुसन्धान गर्दैन भन्ने आरोप गलत भएको जस्तो महसुस आफूलाई भएको पसलका संचालक उमेश गहतराजले बताउनुभयो ।उहाँले चोरी गर्दा स्थानीयले पनि साथ दिएको  हुन सक्ने भन्दै घटनामा संलग्न सम्पूर्णलाई प्रहरीले छिट्टै पक्राउ गर्ने विश्वास भएको बताउनु भयो ।
गत फागनु १८ गते राती कांग्रेस चोकमा रहेकोे मोनिका सुनचाँदी पसल फोडेर तयारी सुनका गरगहना ६९ तोला ५ लाल सुन र चाँदीका तयारी गरगहना १ किलो तथा नगद ७ लाख राखिएको सेफ लकर सहित चोरी भएको थियो ।