विपतमा हामि अभियान द्वारा , गैंडाकोट ६ का अति विपन्न परिवारलाई खाद्यान्न वितरण

२०७७ जेठ ३२ गते १०:२१ गैंडाकोट खबर

३२ जेठ, गैंडाकोट ।  विपतमा हामी अभियानले आज गैंडाकोट ६ मा राहत वितरण गरेका छन् । गैंडाकोट ६ का अति विपन्न १०० घरधुरी परिवारलाई चामल, दाल, तेल, नुन लगायत खाद्यान्न सामग्री वितरण गरिएको अभियानका संयोजक गोकुल सापकोटाले जानकारी दिनुभयो । बिहान बेलुका छाक टार्न समस्या परिरहेको स्थानीयबाट जानकारी आएपछि स्थानीय जनप्रतिनिधीको रोहोवरमा राहत वितरण गरिएको सापकोटाले बताउनुभयो ।

गैंडाकोट ६ का वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले राहत वितरण गर्नुभएको हो । अध्यक्ष सापकोटाले यसअघि पनि टोलमा राहत वितरण गरिएको बताउँदै लकडाउनले मजदुरी गरेर जीवन चलाउने व्यक्ति वढि प्रभावित बनिरहेको समयमा विपतमा हामी अभियानले गरेको यस सहयोगले अझ राहत मिलेको बताउनुभयो ।

राहत वितरण कार्यक्रममा समाजसेवी मदनभक्त अधिकारीले यसले गरिब, अति विपन्नलाई थौरै भएपनि राहत मिल्ने भएकाले सबैलाई सहयोग गर्न आह्वान समेत गर्दै सामाजिक कार्यमा जोडिन सबैलाई अनुरोध समेत गर्नुभयो ।
सिर्जनशिल टोल विकास संस्थाका अध्यक्ष दुर्गाप्रसाद ढकालले चेतनाको अभाव त्यसमाथी व्यवसायीक रुपमा केही गर्न नसकेको अवस्थामा विपतमा हामी अभियानले गरेको काम सराहनिय रहेको बताउनुभयो ।


मजदुरी जीवन व्यतित गरेका उनिहरुले तेस्रो पटक राहत लिएका हुन् । लकडाउनका कारण रोजगारी समेत नपाएको र त्रासका कारण घरमै बसिरहेका उनिहरुले राहत सामग्रीले नै जीवन गुजारा गर्दै आएको बताएका छन् ।

अभियानलाई राहत वितरणका लागि विभिन्न मनकारी व्यक्तिहरुले सहयोग रकम समेत उपलब्ध गराएका छन् । गैंडाकोट ६ का भिम गैरेले १० हजार, गैंडाकोट ६ कै सुनिल सनमले १० हजार, गैंडाकोट २ बाट भ्रदकली सापकोटा र चिन्तामणि सापकोटा अजय ले २१ हजार लगायत अभियानका अभियान्ताहरुले रकम उठाएर सहयोग गरेका हुन् ।
सो क्रममा अभियानका सह संयोजक गोपाल सापकोटा, आर्थिक संयोजक राम तिवारी, अभियान्ता किसान गुरुङ लगायतका अभियानकर्मीहरुको सहभागिता रहेको थियो