किसान साकोस द्धारा राहत कोषलाई करीब ११ लाख प्रदान

२०७७ जेठ १८ गते १६:०० Himal dev pangeni

 

 १८ जेठ, गैडाकोट । किसान वचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले नवलपुर, चितवन र तनहुका विभिन्न स्थानीय तहमा स्थापना गरिएको राहत कोषलाई करीव ११ लाख रुपैया हस्तान्तरण गर्ने भएको छ । यस अन्तरगत आइतवार नेपालकै उत्कृष्ट साकोसको रुपमा स्थापित किसान साकोसले नवलपुरका पाँचवटा पालिकाहरुमा गएर रकम हस्तान्तरण गरिसकेको छ भने सोमबार चितवनको भरतपुर महानगरपालिका र तनहुको देवघाट गाउँपालिकाको राहतकोषमा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

आईतबारमात्रै नवलपुरका आफ्नो शाखाहरु रहेको गैंडाकोट नगरपालिकालाई १ लाख ४१ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो । त्यसैगरी देवचुली नगरपालिका , कावासोती नगरपालिका , मध्यविन्दु नगरपालिका र विनयीत्रीवेणाी गाउँपालिकालाई क्रमशः १ लाख २६ हजारका दरले एकद्धार प्रणालि अनुसार पालिकाहरुको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने गरी स्थानिय निकायका प्रमुखह्ररुलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो । किसान साकोसका सम्पूर्ण १३५ जना कर्मचारी , सञ्चालक , सेवाकेन्द्र व्यवस्थापनका किसान परिवारको व्यक्तिगत योगदानबाट वनाईएको किसान सामाजिक उत्तरदायीत्व कोषबाट जम्मा भएको रकम आइतबार प्रत्येक पालिकाह्ररुमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको अध्यक्ष चालिसेले बताउनुभयो ।

किसान साकोसले आफ्ना कार्यक्षेत्र रहेको नवलपुरका स्थानीय तहहरु , भरतपुर महानगरपालिका , रत्ननगर नगरपालिका र तनहु को देवघाट गाँउपालिका लाई पनि सहयोग गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष चालिसेले जानकारी दिनुभयो । आइतवार नवलपुरका विभिन्न स्थानीय तहहरुमा पुगेर कोरोना भाइरसका कारण समस्यामा परेका जनतालाई राहत पुग्ने गरी सहयोग गरेको भन्दै अध्यक्ष चालिसेले संस्थाले गर्दै आएको सामाजिक उत्तरदायित्वसँग सम्बन्धीत कार्यहरु अन्तरगत रहेर विपतको समयमा समस्यामा परेका जनतालाई केहि हदसम्म सहयोग पुगोस भन्ने उद्येश्यले सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो ।

संस्थाले गैंडाकोट नगरपालिकालाई कोरोनासँग लड्नका लागि भन्दै पछिल्लो समय आफ्नो भवन कोरेन्टीन निर्माणको लागि दिइएको र विभिन्न जनचेतना सँग सम्बन्धीत कामहरु गरिरहेको भन्दै संस्थाले यो विशम परिस्थितिमा आफुह्ररु पनि स्थानीय तहहरुसँगै हिड्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा चेक ग्रहण गर्दै विभिन्न पालिकाहरुका प्रमुखहरुले कोरोनाको कारण समस्यामा परेका जनतालाई मलम लगाउने काम गरेको भन्दै किसान साकोसले समाजप्रतिको उत्तरदायित्व निभाएकोमा धन्यवाद दिएका थिए । सो अवसरमा संस्थाका सचिव अनिल सापकोटाले सोमबार भरतपुर महानगरपालिका , रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकामा पनि राहत स्वरुप १ लाख १ हजारका दरले राहतकोषमा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यसैविच संस्थाले कोरोनाका कारण समस्यामा परेका आफना सेयर सदस्यहरुलाई असार महिनासम्मको व्याजमा १० प्रतिशत र विलम्व शुल्क मिनाहा गर्ने गरेको भन्दै ८० लाख बराबरको छुट दिने निर्णय भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन सापकोटाले जानकारी दिनुभयो । यसैगरी सेयर सदस्यहरुलाई समस्या परेको खण्डमा ५० हजार सम्म तुरुन्तै लिन सक्ने गरी व्यवस्था गरिएको पनि संस्थाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभएको छ । त्यस्तै देशभरीका छाता संगठन राष्टिय सहकारी महासंलाई समेत १लाख १ हजार रुपैयाँ रकम प्रदान गर्ने कार्यक्रम रहेको पनि प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभएको छ । नेपालमै सबैभन्दा धेरै संस्थाहरुसँग एकीकरण गर्न सफल संस्थाको रुपमा परिचित किसान साकोसको मुख्य कार्यालय गैंडाकोटमा रहेको छ ।