कोरोना महामारीः के नेपाल भाग्यमानी ठहर्ला? अब के गर्ने?

२०७७ जेठ १८ गते १५:३४ Flashkhabar

केही साता अगाडिसम्म नेपालमा कोरोना बारे एउटा आशावादी भावना थियो- छिमेक लगायत अरू धेरै देशमा विध्वंश मच्चाएको यो महामारी नेपालमा धेरै नफैलिई रोकिई पो हाल्छ कि? तर संक्रमित संख्या सातैपिच्छेजस्तो दोब्बर भएर मृत्युहरू हुन थालेपछि त्यो धारणा फेरिँदो छ। धेरै देशले जस्तो मनोभाव भएका बेला लकडाउन सुरू गरेका थिए, हामी अहिले त्यस्तै अवस्थामा छौं।

अझै पनि नेपालमा सापेक्षतः कम मृत्यु भएकाले हामीकहाँ अन्यत्रभन्दा यो रोगको मृत्युदर कम हुन्छ कि भन्ने आशा धेरैलाई छ। तर दुई कारणले नेपालको मृत्युदर अहिले झैं कम नरहन सक्छ।

एक, अन्यत्र पनि महामारीको सुरूआती चरणमा यस्तै देखिएको थियो। तर संक्रमण भएको दुई साताको अन्ततिर जब साताभर लक्षण सामान्य रहेपछि व्यक्तिलाई अब रोग निको हुन्छ कि भन्ने लाग्छ, निमोनिया लगायत जटिलता त्यसपछि अचानक देखिन थाल्छन्। र, केही घन्टाको अन्तरालमा बिरामीलाई आइसियु र भेन्टिलेटर आवश्यकता पर्न सक्छ। त्यसैले पछिल्लो लहरमा सयौं संक्रमित फेला परेको तीन वा चार साता नबिती हामीकहाँको असली मृत्युदर यकिन हुँदैन।

दुई, मृत्युदर भाइरसको घातकपनमा मात्रै नभई उसले कस्ता व्यक्तिलाई संक्रमित गर्न पाउँछ र ती मानिसले कस्तो उपचार पाउँछन् भन्नेमा पनि भर पर्छ। बेलायत लगायत विकसित देशका वृद्धवृद्धा स्याहार केन्द्रहरू यो महामारीको सबभन्दा बढी मृत्युदर हुने स्थान थिए। समुदायमा संक्रमण व्यापक भएपछि नेपालजस्तो मूलतः संयुक्त परिवार हुने समाजमा ज्येष्ठ नागरिकहरूलाई संक्रमणबाट जोगाउन मुश्किल हुने देखिन्छ। त्यस्तै जटिलता आउने बिरामीको सघन उपचार नेपालमा अझै सहज भइनसकेकाले त्यस दिशामा हामीले अझ कति प्रगति गर्छौं भन्ने कुराले पनि अन्ततः नेपालको मृत्युदर कति होला भन्ने निर्धारण गर्नेछ।

के खोप बनेर महामारी छिट्टै रोकिएला?

विश्वव्यापी रूपमा सुरूदेखि नै यो महामारीबारे झिनो आशा र गहिरो निराशाका तरंगहरू चलिरहेका छन्। अहिले संयोग कस्तो छ भने, ठीक यो बेला विभिन्न कारणले महामारीबारे निराशाभाव निकै गहिरिएको छ।

अमेरिकामा व्याप्त त्यस्तो मनोभावलाई सटिक रूपमा समेट्दै हालै ‘दि एट्लान्टिक’ मा याश्चा मौंक लेख्छन्- नो टेस्टिङ, नो ट्रिटमेन्ट, नो हर्ड इम्युनिटी, नो इजी वे आउट।

उनको निष्कर्ष अब अँध्यारो भविष्यका लागि तयार हुनुपर्छ।

बिस्तारै मानिसहरूलाई के महशुस हुँदैछ भने, यो समस्या अहिलेसम्म सोचेभन्दा पनि झनै गहिरो देखिँदैछ।

कोरोना महामारीबाट मानिस जातिलाई बाहिर निकाल्ने भनेर आशा गरिएको खोप विकासबारे बेला बेला आउने प्रगतिका खबरले विश्वभर चर्चा पाउँछन्। तर त्यो प्रक्रियाका जटिलताबारे पछिल्लो समय आएका सामग्रीले त्यस्तो आशावादका सीमितता देखाउँछन्।

‘द गार्डियन’ पत्रिकाका विज्ञान सम्पादक इयान स्याम्पलले मे २२ को लेखमा कोरोनाविरुद्धको खोप विकासका चुनौती औंल्याउँदै निचोड निकालेका छन्- खोप त बन्लान् तर हामीले सोचे वा चाहेजस्तो यो महामारी ठप्प पार्ने खोप नबन्ने सम्भावना प्रबल छ।

इयान स्याम्पल लेख्छन्- तीस वर्ष बितिसक्दा आज हामीसँग एचआइभीको खोप छैन। सन् १९४३ मा पत्ता लागेको डेंगी भाइरसको पहिलो खोप अघिल्लो वर्ष स्वीकृत भयो। तर अझै त्यसले कुनै बिरामीमा डेंगीको संक्रमण झनै खराब बनाउँछ कि भन्ने चासो छ। इतिहासमै छिटो बनेको मम्प्स भाइरसविरुद्धको खोप चार वर्षमा मात्रै तयार भएको थियो।

अहिलेसम्मका अध्ययनहरू अनुसार कोभिड–१९ गराउने सार्स–कोभ–टु संक्रमणपछि शरीरमा बन्ने रोग प्रतिरोधी एन्टिबडी (आइजिजी) पहिलो महिनाभर तीव्र गतिमा बढ्छ तर त्यसपछि घट्न थालिहाल्छ। अर्थात् केही महिनाको अन्तरमा व्यक्ति पुनः कोभिड–१९ बाट ग्रस्त हुन सक्छ। भाइरस र मानव जीवनको अन्तक्रियाका यस्ता अनेक पाटा अझै खुलस्त भइसकेका छैनन्। समय बित्दै जाँदा पत्ता लाग्ने तथ्यले खोप विकास सहज बनाउन पनि सक्छन्। असहज बनाउन पनि।

सिद्धान्ततः दिगो प्रतिरोधी क्षमता दिने खोप विकास गर्न असम्भव छैन। तर व्यवहारतः त्यसो हुन्छ भन्ने आधार अहिलेसम्म छैन। संक्रमणले झैं केही महिना मात्रै सुरक्षा दिने खोप बन्यो भने कम्तिमा वर्षमा एकपल्ट त्यो लिइरहनु पर्ने हुनसक्छ।

इयान स्याम्पलको निष्कर्ष छ- हामीले पूर्ण रूपमा प्रभावकारी एउटै खोप विकास गर्नेभन्दा आंशिक प्रभाव भएको एकभन्दा बढी खोप विकास गर्ने सम्भावना धेरै छ। जस्तो, संक्रमण फैलावट रोक्ने खालका खोप युवाका लागि अनि जटिलता रोकेर मृत्युदर कम गर्ने खोप वृद्धवृद्धाका लागि।

तर यो अवस्थाका पनि जटिलता औंल्याउँदै उनी लेख्छन्- आंशिक रूपमा प्रभावकारी कुनै पनि खोपले भाइरसको फैलावट रोक्न सकेन भने खोप प्रतिरोधी भाइरस बनेर खोप कामै नलाग्ने बनाइदिन सक्छ।

त्यसबाहेक खोप विकासका चुनौतीहरू खोपको प्रभावकारितामा मात्रै सीमित छैनन्। अहिले हतारमा खोप विकास गर्दा खोपजन्य रोगले नयाँ समस्या सिर्जना गर्ने इतिहास दोहोरिन सक्छ। सन् १९५५ मा त्रुटिपूर्ण पोलियो खोपका कारण ४० हजार बालबालिकालाई पोलियो भएको थियो, जसमध्ये २ सय ६० मा पक्षघात भएको थियो र १० जनाको मृत्यु भएको थियो।

विश्व कसरी फेरिएला?

महामारीको सुरूआततिर यसले विश्वव्यापी रूपमा ल्याउने परिवर्तनबारे गरिएका तीनखाले अनुमान बिस्तारै गलत सावित हुँदैछन्।

एक, सुरूआती दिनमा रोग र मृत्यु सामुन्ने भएपछि मानिसहरूले मानव जीवनमा विज्ञानको महत्व बुझ्लान्। ध्रुवीकृत राजनीतिक विचारधाराबाट माथि उठेर मानवताको पक्ष लेलान् भन्ने आशावाद धेरैमा जागेको थियो।

तर महामारीसँगै सबै खालका ध्रुवीकरण झन् चर्किँदै गएका छन्। अमेरिकामा लकडाउनको प्रतिकारमा राइफल लिएर सडकमा निस्कने अतिवादीहरू त्यसको राम्रो उदाहरण हुन्।

अमेरिकाका राष्ट्रपतिले हचुवा भरमा मलेरियाको एउटा औषधिलाई कोभिड उपचारमा ‘राम–वाण’ बनाइदिएसँगै विज्ञान राजनीतिबाट अछुतो रहला कि भन्ने आश मरिसक्यो। पछि गएर अमेरिकाकै ‘भेट्रान्स अफेयर्स’ अस्पतालमा गरिएको एउटा अध्ययनले हाइड्रेक्सिक्लोरोक्विन नामक उक्त औषधि लिने बिरामीमा अरूमाभन्दा उच्च मृत्युदर देखाएपछि ट्रम्पले उक्त अध्ययनलाई नै ‘ट्रम्प विरोधी भनाइ’ घोषणा गरेका थिए।

दुई, कोरोनाले राजादेखि रैतीसम्म कसैलाई छाड्दैन भन्ने धारणा। बेलायतका प्रधानमन्त्रीलाई कोभिड संक्रमणका कारण आइसियु भर्ना हुनु परेपछि त यो महामारीलाई समतामूलक भनेर प्रचार पनि गरियो।

तर अब प्रष्ट हुँदैछ, अरू धेरै रोगमा जस्तै यो महामारी पनि विपन्न र सीमान्तकृतका लागि सबभन्दा बढी घातक छ। अमेरिकामा अश्वेतहरूमा कोभिडको मृत्युदर श्वेतहरूभन्दा तीन गुणा बढी भएको पाइएको छ। संसारभर अहिले जीविकाका लागि टाढाको सहर वा अर्को देश पुगेका आप्रवासी श्रमिक सबभन्दा मारमा छन्। संक्रमण फैलावट रोक्न लगाइएका लकडाउनमा उच्च र उच्च मध्यम वर्गका मानिसलाई अहिले घरमा कसरी समय बिताउने भन्ने चिन्ता छ। निम्न वर्गका भने एकसाथ रोग र भोकसित जुधिरहेका छन्।

अर्थात् जसका पेटमा खाना छैन, शिरमाथि छानो छैन र शरीरमा पहिले भएको रोगको उपचार छैन, ऊ यो महामारीबाट सबभन्दा पीडित छ। बलियो आर्थिक अवस्था भएको स्वस्थ मानिसलाई जुन संक्रमणले सामान्य रुघाखोकीले भन्दा बढी दुख दिँदैन, त्यही संक्रमण विपन्न र दीर्घ रोगीका लागि मृत्युदण्ड सावित भएको छ।

तीन, विश्वव्यापी चुनौतीका रूपमा आएको महामारीसित भिड्न विश्वव्यापी समन्वय र सहकार्य होला, विभिन्न देशका कार्यकारी पदमा हुने नेताहरूले पहिलेको तितोपिरो बिर्सेर एक साथ काम गर्लान् भन्ने अपेक्षा। पछिल्लो दशक अमेरिका र बेलायतलगायत देशमा दक्षिणपन्थी राष्ट्रवादीहरू सत्तामा पुगेर कमजोर हुँदै गरेको बहुपक्षीय सम्बन्ध यो महामारीसँगै बलियो होला कि भन्ने धेरैको आशा थियो।

तर महामारीलगत्तै यसको सुरूआतबारे चीन र अरू देशबीच भएको अविश्वास र आरोप–प्रत्यारोप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसित सम्बन्ध विच्छेद गर्ने निर्णय गर्ने चरणसम्म आउँदा महामारीसित जुध्ने विश्वव्यापी सामूहिक प्रयास लगभग छिन्नभिन्न भइसकेको छ।

त्यसबाहेक चीनलगायत संसारका धेरै उदार–अनुदार सरकारले महामारीलाई नागरिकमाथिको नियन्त्रण कडा बनाउने अवसर रूपमा प्रयोग गरेका छन्। त्यसैले महामारीको अर्कोपट्टि पुग्दा संसारमा गरिबी मात्रै बढ्ने हैन नागरिकका आधारभूत स्वतन्त्रतासमेत कटौती हुने देखिएको छ।

नेपालमा अब के होला, के गर्ने?

कोभिडविरुद्ध लड्ने तयारीका लागि सबभन्दा धेरै समय पाउने मुलुकमध्ये एक पर्छ नेपाल। त्यति लामो समय खेर फाल्नेमा त सम्भवतः एक्लो मुलुक पनि।

दुई महिनाभन्दा लामो लकडाउन भोगिसकेकाले नेपाल अब मानिसहरूको आवागमन रोकेर मात्रै महामारी रोकिराख्न सक्ने अवस्थामा छैन। त्यसमाथि भारतमै महामारीको ग्राफ नओर्लिएकाले यो महामारी दुवै देशमा कति समयमा कसरी टुंगिएला भनेर अहिले अनुमान लगाउन गाह्रो छ।

त्यसैले अब नेपालले गर्न सक्ने र गर्नै पर्ने भनेको संक्रमण फैलावट कम गर्न हरसम्भव प्रयास गर्दै स्वास्थ्य सेवा चुस्त राखेर जटिलता आउने कोभिडका धेरैभन्दा धेरै बिरामीलाई बचाउनु हो। अर्कोतिर अब लकडाउन खुकुलो पार्दै गएर अर्थतन्त्रको थप शिथिलता रोक्नुको विकल्प नरहेकाले त्यसो गर्दा संक्रमणको फैलावट दर कसरी कम राख्ने भन्ने राज्य र हामी नागरिक सबैको पहिलो प्राथमिकता हुनुपर्छ। त्यसका लागि सबै खाले दैनिक गतिविधिमा भीड कम गर्दै भाइरस फैलावट रोक्नुको विकल्प छैन।

कोभिड महामारीको यो चरण सकिए पनि यो संक्रमण एचआइभीजस्तै ‘एन्डेमिक’ बनेर वर्षौं वा अनिश्चितकालसम्म हामीसितै रहन सक्ने भएकाले अब हामीले अपनाउने उपाय केही महिना वा वर्षका लागि मात्र होइन, दीर्घकालका लागि कायम राख्नुपर्ने हुन सक्छ।

यो नयाँ युगका लागि जीवनशैली र हाम्रा समग्र भौतिक पूर्वाधारमा परिवर्तन ल्याउनु अनिवार्य देखिन्छ।

तीमध्ये भीड कम गर्दै सार्वजनिक यातायात पुनः सञ्चालन गर्नु नेपालमा सबभन्दा चुनौतीपूर्ण देखिएको छ। अहिलेसम्म काठमाडौं लगायत सहरमा सार्वजनिक यातायात भन्नु नै भेडाबाख्रा झैं मानिस कोचेर यात्रा गराउनु थियो। अब त्यस्तो यात्रा आत्मघाती सावित हुन सक्ने भएकाले यातायात सञ्चालन भएपछि पनि भीडभाड कम गर्नु र सिट लगायत सतहहरू निर्मलीकरणको महँगो अभ्यास बसाल्नुको विकल्प रहने छैन।

सार्वजनिक यातायात लामो समयसम्म मागअनुसार सञ्चालन नहुने भयो वा भएपछि संक्रमण फैलाउने माध्यम बन्ने भयो भने सकेसम्म मानिसले स्कुटर वा मोटरसाइकल बढी प्रयोग गर्ने सम्भावना प्रबल छ। हाम्रा सहर झनै प्रदूषित, जामग्रस्त र अस्तव्यस्त हुने सम्भावना छ। त्यसैले विश्वका अरू धेरै देशले झैं साइकललाई सहरी यातायातको मुख्य साधन बनाउनुको विकल्प देखिँदैन।

साइकलको व्यापक प्रयोगसँगै यातायातमा मानिसको खर्च मात्रै घट्दैन, प्रदूषण कम हुने, देशको पेट्रोलियम आयातको बिल घट्ने, स्वास्थ्यमा सुधार हुने, अस्पतालहरूमा बिरामीको चाप कम हुने लगायतका दीर्घकालीन फाइदा छन्। साइकल संस्कृति बसाल्न राज्य र नागरिक दुवैले भूमिका खेल्नु आवश्यक छ। साइक्लिङ प्रवर्द्धनका लागि हामी नागरिकले छोटो दुरीमा मोटरसाइकल, स्कुटर वा कारको विकल्पमा साइकल चढ्न सक्छौं भने राज्यले साइकलमा कर छुटदेखि लेनको निर्माणजस्ता सजिला काम गर्न सक्छ।

त्यसो भएर सार्वजनिक यातायातमा भर पर्नुपर्ने जनसंख्या घट्नासाथ तिनमा संक्रमण नियन्त्रणका उपाय सहज रूपमा प्रयोग गर्न सकिन्छ।

त्यसपछिको ठूलो चुनौती भनेको देशमा रोजगार बिस्तार गर्नु रहनेछ। आम नागरिकको जीविकाको समस्या हल नगरी महामारी नियन्त्रणका लागि हामीले अरू जेसुकै गरे पनि त्यसको अर्थ रहने छैन। अन्ततः महामारीका कारण सिर्जित गरिबी र कुपोषण हाम्रा लागि सबभन्दा ठूला चुनौती हुनेछन्। तिनको न्यूनीकरण गर्न सिंगो समाज लाग्नैपर्छ।