खगेन्द्र लामिछाने भन्छन्- मैले गाउँमा काम गरेको देखेर छरछिमेक पनि छक्क पर्नु हुन्छ

२०७७ जेठ १८ गते १५:२९ Flashkhabar

नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ यति बेला कास्की र स्याङ्जाको सीमावर्ती भेगमा पर्ने आफ्नो गोठमा छन्। मकैबारीमा रमाइरहेका अमृतका फोटा देखेपछि निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेलाई गाउँ जान नपाउँदाको छट्पटी बढ्यो।

खगेन्द्रले स्याङ्जाकै आफ्नै गाउँ सम्झिए। सुन्तला बारी सम्झिए। आफन्तहरू सम्झिए।

अनि ट्विटरमा लेखे– अमृत दाइले मकै गोडिरहेको तस्वीर देख्दा मैले पनि झल्झली सुन्तला बारी सम्झिएँ। ती बोटहरू कुरा गर्दै होलान्, ‘धेरै भयो आएको छैन। माया मार्‍यो कि क्या हो खगेन्द्रले?’ ढुक्क भएर बस प्यारा बोटहरू, म छिट्टै आउनेछु।’

सुन्तलासँगको लगावबारे बताउँदै उनले सेतोपाटीसँग भने, ‘हाम्रो घरमा ठूलो सुन्तला खेती छ। करिब पाँच सय वटा बोट छन्। मलाई आफ्नो गाउँको खेतबारी र बोटबिरूवाको चिन्ता भइरहन्छ। काठमाडौंमा बसेर पनि खेतबारीको खबर राखिरहन्छु। अहिले असिनाले गर्दा खेती राम्रो भएको छैन भन्दै हुनुहुन्थ्यो बुबा। बारीतिर काँक्रो र करेला भने प्रशस्त फलेको छ।’

‘सानो हुँदा सुन्तला कति चोरेर खाइयो त?’

उनले हाँस्दै भने, ‘धेरै चकचके थिएँ सानोमा। तर सुन्तला चोरेर भने कहिल्यै खानु परेन। बरू आँधीखोलातिर खुब पौडी खेल्न जान्थ्यौं भागेर। अहिले त्यो खोला हेर्न जाँदा मन खिन्न हुन्छ। पहिले जस्तो सुन्दर र सफा छैन। बालुवा-गिट्टीको कामले मासिन थालेको छ। एकछिन उभिएर हेर्‍यो भने आँखा आँसुले भरिन्छ।’

सामान्य अवस्थामा कामबाट फुर्सद पाउने बित्तिकै खगेन्द्र गाउँ जान्छन्। लकडाउन हुनुभन्दा अघि पुसमा गएका थिए। गाउँ गएका बेला खेतबारीमा काम गर्ने बताउँदै उनले भने, ‘काठमाडौं आएपछि प्रायः मान्छे गाउँमा काम गर्न बिर्सिन्छन्। कति त सहरिया पल्टिन पनि बेर लगाउँदैनन्। मैले भने काम गरेको देखेर छरछिमेक पनि छक्क पर्नु हुन्छ।’

बोटबिरुवा र कृषिप्रतिको मोह खगेन्द्रलाई सानैदेखि थियो। अहिले पनि उत्ति नै छ। समय मिलेका बेला युट्युबमा विदेशीले कृषि गरेको तरिका हेरेर नयाँ कुरा सिक्न खोज्छन्। यही कारण उनी आफूलाई सुरूमा किसान अनि मात्र कलाकार भनेर चिनाउँछन्।

उनका बुवाआमा गाउँका सामान्य किसान हुन्। खगेन्द्रलाई प्राध्यापक बनाउने उनीहरूको सपना थियो। उनी भने बुवाआमाजस्तै खेतीकिसानीमा रमाउँथे।

‘मलाई त्यति पढ्ने जाँगर थिएन,’ उनले बाल्यकालका दिन सम्झँदै भने, ‘ठूलो भएर त्यही खेती अझ राम्रो बनाउने सोच थियो। बुवालाई भने छोरालाई पढे-लेखेको बनाउने रहर। त्यसैले पिटीपिटी पढाउनुभयो।’

प्राथमिक शिक्षासम्म खगेन्द्रले स्याङ्जामै पढे। त्यसपछिको शिक्षा उतै लिने सोच थियो। पढाइसँगै सुन्तला बगैंचा हेर्न पाउने लोभ जो थियो। यता बुबालाई भने काठमाडौंमा पढाउने इच्छा। केही समय पोखरा पढेर काठमाडौं आएपछि यहाँको नयाँ वातावरणले उनको झुकाव किताब र नाटकप्रति बढ्यो।

२०५७ सालमा खगेन्द्र स्याङ्जाबाट लेखक बन्ने सपना बोकेर काठमाडौं आएका थिए। गाउँबाट आउँदा उनी र उनका सपना मात्र थिए। यसैक्रममा नाटक लेख्ने अवसर मिल्यो र समयसँगै कलाकार पनि भए। गुरु सुनील पोखरेल र अनुप बरालले उनको कामलाई धेरै समर्थन गरेकाले कला र साहित्य क्षेत्रमा अघि बढ्ने उत्साह पाएको उनी बताउँछन्।

उति बेला साहित्यलाई त्यति महत्व दिइँदैनथ्यो। आफ्ना चिनजानका मान्छे कोही नहुँदा कहिलेकाहीँ उनलाई चिन्ता पनि लाग्थ्यो। आर्थिक स्थिति कमजोर होला भन्ने डर उत्तिकै। तर आफ्ना सपनाको अगाडि जति डर आए पनि जित्न सकिँदो रहेछ भन्ने उनले बुझे र सपनालाई आर्थिक अवस्थासँग कहिले जोडेनन्।

तर साहित्य र कलाप्रति जतिजति लगाव बढ्दै गयो, कमजोर आर्थिक अवस्थाले उनलाई थिच्दै लग्यो। घरखर्च पुग्ने मात्रै कमाइरहेको थिए। सबै राम्रो हुँदाहुँदै पनि आर्थिक कुराको डरले उनलाई विचलित गराउँथ्यो।

‘एकचोटि त बुबालाई पैसा कमाउन विदेश जान्छु समेत भनेको थिएँ। अलि पैसा जम्मा भएपछि मात्र आफ्नो रूचिको काम गर्ने सोचेँ। तर बुबाले त्यो कुरालाई सिधै नकार्नुभयो,’ उनी सम्झन्छन्, ‘उहाँले त्यति बेला विदेश भनेको घुम्न मात्र जाने हो, आफ्नो पसिना पोख्न होइन भन्नुभएको कुरा मलाई आजसम्म याद छ। बुबाले दिनुभएको त्यो हौसला बेवास्ता गरेर विदेश गएँ भने त्यो मेरो जीवनको ठूलो भूल हुनेछ भन्ने मलाई थाहा थियो। त्यसैले दुःखसुख आफ्नो रूचिलाई अगाडि बढाएँ।’

खगेन्द्रलाई नयाँ कुरा सिक्न र संसारको यथार्थ बुझ्ने भोक पहिल्यैदेखि थियो।

त्यहीक्रममा उनले एकपटक पैसा नहुँदा अनुभव बटुल्न एकहप्तासम्म एकसुको नबोकी हिँडेछन्, ‘मलाई गरिबहरूले भोगिरहेको अभाव महशुस गर्न मन थियो। पैसा हुँदा त सामानको मतलब हुँदैनथ्यो, पैसा नहुँदा पसलमा खानेकुरा देख्यो कि भोक लाग्ने र नयाँ लुगा किन्न मन लाग्ने रहेछ। पैसा भएको भए यो किन्थेँ, त्यो लगाउथेँ भन्ने खालको। मैले गरेको अनुभव उहाँहरूको दुःखसँग अलिकति पनि मेल नखाला तर मैले एक हप्ता गरेको परीक्षण उहाँहरूको यथार्थ हो।’

जीवनमा सुखदुःख दुवै अनुभव नजिकबाट नियालेका खगेन्द्र यो त्रास समयमा सकरात्मक रूपमा जिउन सिकिरहेका छन्।

‘पुर्खाले दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू भनेझैं यस्ता दिनले जिन्दगीलाई सही ढंगले जिउन सिकाउँछ,’ उनी भन्छन्, ‘विश्व नै डरमा बाँचिरहँदा हामीलाई पनि मनमा डर हुनु स्वभाविक हो। तर एकदिन त संसार छाडेर जानु छ। डराएर होइन, सावधानी अपनाएर यो क्षण सकारात्मक रूपमा रमाउन सिकौं।’

काठमाडौँ आएको दुई वर्षपछि उनले बिबिसी मिडिया एक्सनमा लेखकका रूपमा काम गरे। त्यो बेला उनलाई किताब छाप्ने पनि खुब रहर थियो।

‘सरुभक्त दाइ राम्रो लेखकमध्ये एक। उहाँसँगै बसेर किताबबारे पढ्न र बुझ्न पाए के–के न होला भन्ने लागेको थियो। एकपटक चिया पसलमा भेटेका बेला घुस्रिँदै बोल्न गएँ,’ उनले भने, ‘विस्तारै उहाँसँग निकटता बढ्दै गयो। धेरै कुरा सिक्न पाएँ। त्यसै बेला मेरो लेखाइ दाइलाई देखाएँ।’

त्यो बेला सरुभक्तले उनको लेखाइमा अझै सुधार ल्याउन बाँकी भएकाले नछाप्न सुझाए। खगेन्द्र भने आफैं जान्ने भएर किताब छापे। पछि आफ्नो लेखाइ देखेर उनलाई बेक्कार छापेको महशुस भएछ।

लकडाउन अघिसम्म खगेन्द्र फिल्म ‘पानीफोटो’ को सुटिङमा व्यस्त थिए। अहिले उनी आफ्नो लेखनलाई समय दिइरहेका छन्। लेख्न बस्दा उनलाई धेरै आनन्द आउँछ। अन्य कुरामा ध्यान जाँदैन। रातभर लेख्ने भएर सुत्ने-उठ्ने बानी बिग्रेको छ। अरू बेला ११ बजेतिर सुत्ने उनी अहिले रातभर लेखेर बस्ने बताउँछन्।

लेखाईसँगै फिल्महरू पनि हेरिरहेका छन्। ‘प्यारासाइट’ र ‘मिरेकल इन सेल नम्बर सेभेन’ आफूले हेरको कोरियन फिल्ममध्ये उनलाई धेरै मन पर्‍यो। मनपर्ने भारतीय अभिनेता इरफान खानको निधनपछि उनका सबै फिल्म दोहोराएर हेरे।

इरफान खानको मृत्युले खग्रेन्दलाई बेलाबेला झस्काउँछ। सन् २००८ मा इरफानलाई पहिलो पटक भेटेको क्षण उनलाई झल्झली याद आइरहन्छ।

‘अन्तर्राष्ट्रिय थिएटर उत्सवका क्रममा उहाँ नेपाल आउनुभएको थियो। त्यो बेला मेरो पनि एउटा नाटक उत्सवमा समावेश थियो। इरफान खान सुनील दाइ (पोखरेल) को साथी हुनुहुँदो रहेछ। त्यही बेला दाइले चिनजान गराइदिनुभएको थियो,’ उनले भने, ‘सुनील दाइले मेरो बारेमा भन्दै गर्दा इरफान खानले ‘ये भी लिखता है?’ भनेर अच्चम्म मान्नुभयो। किनकी म सानै थिएँ र उहाँलाई मैले पनि नाटक लेख्छु भन्ने कुरा अचम्म लागेछ।’

खगेन्द्र कुनै पनि कलाकारलाई उसको कामका आधारमा मन पराउँछन्। इरफानको अभिनय र फिल्म कलात्मक बनाउन सक्ने पक्ष धेरै मनपर्ने र त्यहीबाट धेरै सिकेको बताउँछन्।

कला पछ्याउँदा पैसाले सधैं खगेन्द्रलाई सताइरह्यो। त्यो बेला पैसालाई उनले प्राथमिकतामा राखेनन्। अचेल परिस्थितिले गर्दा उनी आफ्नो विचारबाट मोडिनु परेको बताउँछन्।

‘फिल्म र व्यवसाय सँगसँगै जाने हुँदा कतिपय कुरामा सम्झौता गर्नुपर्छ। कलात्मक फिल्म बनाउँदा झन् धेरै चुनौती छ। कतिपय दशर्कले हाम्रो काम कदर गर्नुहुन्छ, त्यो खुसीको कुरा हो। तर हामीलाई केबल प्रशंसा र कदरले मात्र पुग्दैन,’ उनी भन्छन्।

राम्रा नेपाली फिल्म हलमा लाग्दालाग्दै घाटामा जान्छ। प्राय दर्शक हलसम्म गएर हेर्दैनन्। यसले फिल्मलाई आर्थिक घाटा मात्र होइन, नेपाली फिल्म क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान नपाउने खगेन्द्रको भनाइ छ।

‘राम्रा फिल्मले युट्युबमा धेरै चर्चा पाएको हुन्छ। कुनै त पचास लाखसम्मले हेर्नु हुन्छ। तर हलमा एक हजारले हेर्नु पनि ठूलो कुरा हो,’ उनी भन्छन्, ‘यसले काम गर्ने हौसला मर्दै जाँदो रहेछ। दर्शकले हलमा गएर हेरिदिनुभयो भने हामीलाई अझ राम्रो फिल्म बनाउन प्रोत्साहन मिल्छ।’