नारायणी नदीले कटान गर्न थाल्यो, समस्या समाधान गर्न मेयर दाहालको निर्देशन

२०७७ जेठ १७ गते ०:३७ Flashkhabar

चितवन, जेठ १६–

वर्षायाम सुरु हुन अझै केही दिन बाँकी छ । तर वर्षायाम सुरु नहुँदै चितवनमा नारायणी नदीले कटान गर्न थालेको छ । नारायणी नदीले भरतपुर महानगरपालिका वडा नं. २८, स्थित तामाङ टोल नजिकै कटान गर्न थालेको छ ।

नदीले कटान गर्न थालेपछि आज (शुक्रबार) महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ । बिहीबार रातिदेखि नदीमा पानीको सतह बढेर कटान गर्न थालेपछि स्थानीय प्रशासन र महानगरका मेयरसहितको टोली निरिक्षणका लागि पुगेको थियो। सो क्रममा मेयर दाहालले तत्काल कटान रोक्नका लागि तटबन्धको काम अघि बढाउन निर्देशन दिएकी छिन् ।

उनले नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मेखनाथ शर्मालाई ठूलो बाढी आउनु अगावै काम सक्नेगरि तत्काल योजना अगाडि बढाउन निर्देशन दिइन्। उनले जोखिम न्यूनीकरण र दिर्घकालिन समस्या समाधानको लागि विस्तृत योजना प्रतिवेदन तयार भइसकेकोले नारायणी नदीबाट हुने क्षति अब केही वर्षमा स्थायी समाधान भइसक्ने बताइन् ।

नारायणी नदी व्यवस्थापन आयोजना प्रमुख शर्माले तत्काल समस्या समाधानको लागि ठूला ढुङ्गा राखी कटान रोक्नेगरि काम अगाडि बढाउने बताए । उनले सोहि क्षेत्रमा काम गरिरहेकै उपभोक्त समिति मार्फत काम गराएर एकसातामै काम सक्ने जानकारी दिए । सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वर्षात अगावै खोलानालामा बाढी आउन थालेकाले सबै स्थानीय तहले बेलैमा संभावित जोखिमबारे आंकलन गर्नुपर्ने बताए । उनले विपत् व्यवस्थापन समिति पनि वर्षातका कारण आउने जोखिम कसरी कम गर्न सकिन्छ भनि तयारी अवस्थामा रहेको जानकारी दिए ।

सो क्रममा स्थानीयले गएरातिदेखि तामाङ टोल नजिकै कटान शुरु गरेको जानकारी गराएका थिए । गतवर्ष पनि सोहि क्षेत्रमा एक किलोमिटर माथि कटान गरेपछि महानगरको अगुवाइमा नारायणी नदी व्यवस्थापन आयोजनाले कटान रोकथामको काम गरेको थियो ।