दुर्घटनाग्रस्त पाकिस्तानी जहाजको अवशेषमा भेटियो झन्डै पाँच करोड रुपैयाँ

२०७७ जेठ १६ गते १०:१२ Flashkhabar

एजेन्सी
इस्लामावाद, जेठ १६
केही दिनअघि पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलायन्सको जहाजको अवेशषमा ४ करोड ८० लाख रुपैयाँ फेला परेको छ।

अनुसन्धान तथा उद्धारकर्ताहरूले बिहीबार उक्त परिणामको विभिन्न देशको मुद्रा फेला पारेका हुन्। उक्त रकम दुइटा लगेजमा भेटिएको हो।

‘विमानस्थलको सुरक्षा र ब्यागेज स्क्यानरहरूलाई छलेर कसरी यत्रो रकम जहाजसम्म पुग्यो भन्ने अनुसन्धान गर्न आदेश दिइसकेको छ,’ एक पाकिस्तानी अधिकारीले भनेका छन्।

उक्त जहाजमा पाकिस्तानका केही बैंकरहरू पनि सवार थिए।

गत शुक्रबार लाहोरबाट कराची जादैँ गरेको पिके-८३०३ नम्बरको विमान बस्तीमै खसेको थियो। त्यस दुर्घटनामा चालक दलसहित ९७ जनाले ज्यान गुमाएका थिए भने दुई जना बाँच्न सफल भएका थिए।
बिहीबार पाकिस्तान सरकारले ४७ जनाको पहिचान भइसकेको समेत जानकारी दिएको छ। जसमध्ये ४३को शव अन्त्येष्टिका लागि दिइसकेको बताए।