कृषक रिजालको लकडाउन पिडा ः न पायो मकैले भाउ, न दुध विक्रि गर्न सहज

२०७७ जेठ ४ गते ११:१९ नविन सुवेदी

४ जेठ,गैडाकोट ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनको आज ५५ औँ दिन । लकडाउन पहुँच र शक्ति प्रदर्शन गर्नेहरुका लागि केही होइन । तर जो पसिना वगाएर कडाउनको समय घरमा वसेकाहरुलाई दुध, खाद्यन्न पु¥याउन अहोरात्र खटेको हुन्छ उक्त किसानको लागि लकडाउनमा हप्कीदप्की त छदै छ लगानी पनि नउठ्ने गरी भाउ दिन आउने विचौलीयाहरुको भीड जारी छ ।

पटक पटक लकडाउनमा थप्दै सरकारले एउटै कुरा कान नै टट्टाउने गरी भन्छ, “दुध लगायत कृषि उत्पादन विक्रि गर्न छुट छ । अनि स्थानीय, प्रदेश सरकार भाषण गर्छ, किसानका उत्पादन विक्रि नभए हामी जिम्मा लिन्छौँ । तर गैडाकोट ६ का कृषक तिलक प्रसाद रिजाललाई न यी भाषणले सहयोग गरेको छ न त उत्पादित दुध सहजै विक्रि गर्न पाउनु भएको छ ।


रिजालको पुख्र्याैली पेशा नै कृषि हो। गैडाकोटमा रहेका जमिनमा परिवारका सवै सदस्यको परिश्रमले लह लह मकै फले । अहिले विक्रिका लागि तयार छ तर उचित मूल्य दिने कोही आएका छैनन् । आएकाले विगत वर्षको भन्दा झन् भाउ घटाएर मकै माग्छन् । रिजाल भन्नुहुन्छ, “पोहोर छोडाएर वोरामा नहाल्दै क्वीन्टलको ३५ सय देखि ४२ सय दिए तर अहिले कोही २५ सय भन्छन् कोही ३ हजार । अझ फौजी किराले मकै उत्पादन घटेको छ यस्तो समयमा झन् भाउ वढ्नुपर्नेमा घटेको छ । कसरी घटेको भाउमा आफ्नो पसीना फाल्ने ? ”

उहाँले ३ विघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ । पोहोर भाउ पाएका कारण भाडामा समेत जग्गा लिएर मकै खेती गर्नुभएको उहाँ अहिले पीडमा हुनुहुन्छ । भन्नुहुन्छ,“ नाफाको त कुरा छैन । व्यवसाय धान्न मात्रै प्रयास गरिरहेको छु । ” अहिले ८० क्वीन्टल मकै विक्रिका लागि तयार छ तर भाउ नपाउँदा यसै थन्कीएको छ । स्टोर नहुँदा राख्न पनि समस्या छ । सरकारले भाउ तोकिदिए पसीनाको सम्मान हुने उहाँको भनाई छ ।


रिजालले विस २०७० सालदेखि फर्म नै दर्ता गरेर मकै खेती सँगै पशुपालन व्यवसाय सुरु गर्नुभयो । एउटा माउ गाई तीन वटा वाच्छीबाट सुरु भएको उहाँको व्यवसायमा अहिले ३० वटा गाई छन् भने दुई वटा माउ भैँसी छन् । एउटा माउ भैँसी गैडाकोट खवरको टोली फर्ममा जाँदै गर्दा भर्खरै व्याएको थियो । त्यसैको स्यहार सुसारमा व्यस्त हुनुहुन्थ्यो रिजालका जेठो छोरा सुरेन्द्र ।

भर्खरै व्याएको भैँसी सहित १२ वटा दुहुना गाईलाई दाना दिँदै गर्दा सुरेन्द्रले लकडाउनले पारेको पीडा सुनाउदै भन्नुभयो,“अहिले धेरै गाह्रो छ सर हामीलाई । उत्पादन भएको मकै विकेको छैन । दैनिक दुध नारायणगढ लगेर विक्रि गर्नुपर्छ । मोटरसाइकलमा लैजान दिन्नन् । हामीसँग गाडि छैन । निकै कठिन छ ।”

रिजालका अनुसार अहिले दैनिक १०० लिटर दुध उत्पादन हुन्छ । लकडाउन अघि सजिलै पशु आहार पाइएपनि अहिले कठिन छ। त्यसैले प्रतिदिन १०० लिटर दुधमा सीमित हुनुपरेको छ । तर आफैले मकै उत्पादन गरेका कारण र बारीमा घाँस भएकाले खुवाउन सजिलो छ । तर त्यति मेहनतले उत्पादित दुध विक्रि गर्न जाँदा प्रहरीले दिएको तनावले उहाँ हैरान हुनुहुन्छ । त्यसैले रिजाल भन्नुहुन्छ,“व्यवसाय धान्न मात्रै पाए पनि ठूलो सफलता हुन्थ्यो । ”

४ कठ्ठा क्षेत्रफलमा रिजाल पशु विकास कृषि र्फम दर्ता गरेर आफ्ना छोराहरुलाई पनि कृषि कर्ममा लगाउनुभएको छ । उहाँले अहिले सम्म पाएको आम्दानीले विदेश नगए नि हुन्छ भन्ने अवस्था आएपनि लकडाउनले उहाँको खर्च मात्रै वढाएको छ । मोटरसाइकलमा लगेर दुध विक्रि गर्दै आउनुभएको उहाँले प्रहरीकै हप्कीदप्कीले गाडी भाडामा लिनुपरेको छ । उसै त आम्दानी छैन त्यस माथि गाडी भाडा लिएर दुध वेच्नु पर्दा उहाँ पिडामा हुनुहुन्छ । हरेक जिल्ला प्रशासनको आ–आफ्ना नीति र निर्णयले पसीना वेच्ने किसानलाई ठूलो समस्या छ ।

मासिक ७० देखि ८० हजार कमाई हुने उहाँको अहिले दैनिक ५ हजार खर्च हुन्छ । अव यसबाट विस्थापित हुने अवस्था आएको भन्दै उहाँको दुखेसो छ । मोटरसाइकलमा लैजादा उहाँको लागत कम हुन्थ्यो तर प्रहरीले विक्रि गर्न नदिएपछि अहिले भाडामा गाडी लिन वाध्य हुनुपरेको छ जसले उहाँको खर्च अनावश्यक वढाएको छ । सरकारको अकर्मण्यताले उहाँलाई समस्यामा पारेको छ ।

कहिले सजिलै जान दिने कहिले जहाँबाट आएको हो उतै जानुहोस भन्ने प्रहरीको रवैयाले उहाँ लगायत धेरै गैडाकोटका किसान जसले नारायणगढ गएर दुध विक्रि गर्नुहुन्छ, सवैको यही पिडा छ । कमाई नहुँदा उल्टो भाडामा गाडी लिनुपर्ने वाध्यता उहाँमा छ । अहिले त्यही भाडाको गाडीलाई पनि कहिले रोक्ने, अनावश्यक दुख दिने गरेको उहाँको गुनासो छ ।

सरकारले मकै को पनि समर्थन मूल्य तोकेर किसानलाई राहत दिन उहाँको माग छ । सरकारको एकै खाले निर्देशन भए यो समय दुख पाउनु नपर्ने उहाँ बताउनुहुन्छ । कसलाई भनौँ र ? रिजाल भन्नुहुन्छ, उत्पादित वस्तुहरु विक्रि गर्न सजिलै पाए त्यही नै ठूलो सहयोग हुने थियो ।