विपतमा सहमती, कोइका र गुड नेबर्स ः ६ स्थानीय तहलाई १५ लाख सहयोग

२०७७ वैशाख १४ गते १५:०५ Flashkhabar

बैशाख १४, गैडाकोट । गैडाकोट ५ मा रहेको सहमति त्यस्तै कोइका र गुड नेवर्स विपतको समय विपन्नहरुको सारथी वनेको छ । नवलपरासी पूर्व र पश्चिमका ६ स्थानीय तहलाई आज १५ लाख रुपैया को सम्वन्धीत स्थानीय तहहरुमै पुगेर चेक सहयोग गरेको हो । कोभिड १९ को रोगले भन्दा भोकले समस्यामा परेका सर्वसाधारणलाई सहयोग स्वरुप स्थानीय तहलाई सो रकम वरावरको चेक आज हस्तान्तरण गरेको सहमतिका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिनुभयो । कोइका नेपालको आर्थिक सहयोग, गुड नेवरर्स इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सहमति संस्थाद्धारा संचालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत स्थानीय तहका विभिन्न वडामा संचालन भएका स्थानीयद्धारा पहल परियोजनामा आवद्ध जनताको विशेष सहयोगका लागि सो रकम हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रमका फोकल पर्सन एवम सहमतिका सल्लाहकार संयोजक भिमप्रसाद शर्माका अनुसार यो कार्यक्रम संचालन भएको प्रत्येक वडालाई १ हजार अमेरिकी डलर अर्थात् १ लाख १५ हजार ३ सय ५० का दरले ती पालिकाहरुलाई चेक हस्तान्तरण गरिएको हो । जसमा नवलपरासी पश्चिमको सुनवल नगरपालिका नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीलाई ३ लाख ४६ हजार ५०, पालिनन्दल गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तव लाई १ लाख १५ हजार ३ सय ५०, सरावल गाउंपालिलाई अध्यक्ष राधेश्याम चौधरीलाई १ लाख १५ हजार ३ सय ५०, प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मालाई २ लाख ३० हजार ७ सय , सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयलाई पनि २ लाख ३० हजार ७ सय र नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रवहादुर रानालाई ४ लाख ६१ हजार ४ सय रुपैयाको चेक सहमतिका अध्यक्ष करुणासागर सुवेदी र कार्यक्रमका संयोजक भिमप्रसाद शर्माले हरेक स्थानीय तहको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरी कुल १५ लाख रुपैया सहयोग गर्नुभएको हो । एक वडामा दुई वटा प्रोजेक्ट संचालनमा रहेको शर्माले बताउनुभयो ।

अहिलेको विपदमा पनि मानवियता भुलेर मानिसहरुको भीड जम्मा गर्ने र सेल्फी खिची सामाजिक संजालमा भाइरल हुने प्रवृत्ति वढेको भन्दै आफूहरुले त्यसको निराकरणमा जोड दिँदै न्यायोचित राहत वितरणमा सहयोग पुगोस भनी एकद्धारा प्रणालीलाई पालना गरेर सहमतिले सहयोग गरेको हो ।

स्थानीय तहको निर्णय अनुसार राहत वितरण गर्न सक्ने तर यो कार्यक्रम संचालन भएका वडाका विपन्न परिवार भोकै वस्न नहुनेमा जोड दिँदै विशेष ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई उहाँले आग्रह गर्नुभयो ।

चेक प्राप्तपछि स्थानीय तहका प्रमुखहरुले स्वास्थ्य संकटको सयममा यति ठूलो रकम सहयोग पहिलो पटक आएको भन्दै सहमति संस्थालाई धन्यवाद सहित वास्तविक विपन्न परिवारलाई राहत हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । यो सहयोगले भोकै वस्न वाध्य जनतालाइ ठूलो राहत मिल्ने र वास्तविक विपन्न परिवारलाई सहयोग गर्ने सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापा क्षेत्रीले बताउनुभयो । कार्यक्रमका जिविकोपार्जन विज्ञ सुमन श्रेष्ठका अनुसार हाल ६ वटा स्थानीय तहहरुको विभिन्न वडाहरुमा दुग्ध उत्पादन, माछा पालन, तरकारी खेती, सिचाई, युवा तथा महिला रोजगार कार्यक्रमहरु गरी २६ वटा प्रोजेक्ट झण्डै ३० करोड हारहारीको लगानी सहित गत वर्षको जुलाईबाट संचालन भएको भन्दै यसले आय स्तर वृद्धि संगै स्थानीयमा व्यवसायीक ज्ञान वृद्धि गर्ने बताउनु भयो ।

अहिले नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाको ६,७,८ र ९ वडामा ३ वटा तरकारी खेती, ३ वटा दुग्ध सम्वन्धी र २ वटा सिँचाई गरी कुल ८ वटा प्राजेक्ट, पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको २, ५ र ९ वडामा २ वटा कृषि यान्त्रीकरण, १ वटा युवा तथा महिला रोजगार, १ वटा माछा पालन र १ वटा कृषि बजार तथा दुध र १ वटा माछा, डेरी र तरकारी सम्वन्धी गरी ६ वटा, पालिनन्दन गाउँपालिकाको वडानम्व्र ६ मा १ वटा डेरी र १ वटा युवा तथा महिला रोजगारी गरी २ वटा प्रोजेक्ट, सरावल गाउँपालिकाको वडानम्वर ७ मा १ वटा महिला तथा युवा रोजगार र १ वटा स्यालो ट्युवेल सिंचाई परियोजना, प्रतापपुर गाउँपालिकाको वडानम्वर ६ र ८ मा २ वटा सिँचाई, २ वटा कृषि यान्त्रीकरण गरी ४ वटा र सुस्ता गाउँपालिकाको वडानम्वर २ र ३ मा २ वटा दुग्ध, १ वटा विउ उत्पादन र १ वटा व्यवसायीक केरा खेती गरी ४ वटा प्रोजेक्ट सहित कुल २६ वटा संचालन भइरहेको हो ।

सहमतिका अध्यक्ष करुणा सागर सुवेदीले सहमतिले हाल चार वटा क्षेत्र आर्थिक विकास र जिविको पार्जन, विपत व्यवस्थापन र वातावरण संरक्षण,सुशासन र वकालत गरी विभिन्न जिल्लामा काम गरिरहेको र अहिलेको कोभिड १९ का कारण यी कार्यक्रम संचालन भएका ठाउंका जनता जो आक्रान्त छन् उनीहरुको सहयोगका लागि रकम सहयोग गरेको बताउनुभयो । अध्यक्ष सुवेदीका अनुसार केहि दिन अघि पनि गैर सरकारी सस्था महासंघ मार्फत सहमतिले प्रधानमन्त्री राहत कोषमा १० हजार सहयोग गरेको थियो ।