दिल्लीका केही ऐतिहासिक स्थानहरु

२०७६ चैत ४ गते १३:०३ गोविन्द रिमाल

नेपालबाट भारत भ्रमण जाने जोकोही मानिस दिल्ली र त्यस आसपासमा रहेका अक्षरधाम, लोटस टेम्पल, लालकिल्ला, कुतुब मिनार, ताज महल, बिहारीलालको मन्दिर, वैष्णोदेवी र प्रेममन्दिरमध्ये केही स्थानको चर्चा यहाँ गरिएको छ । विशुद्ध भ्रमणलाई यस लेखले सहयोग पु¥याउने अपेक्षा लिइएको छ ।

(क) ताजमहल

दिल्लीबाट करिब चारसय कि.मि उत्तरमा रहेको आगरा आफैमा प्रसिद्ध स्थान हो । त्यहाँको यमुना नदी तटमा अवस्थित विश्वको सातौं आश्चर्यमध्येको एक ताजमहलको जति नै प्रशंसा गरे पनि कम हुन्छ । प्राचीन तथा ऐतिहासिक महŒव बोकेको सो स्थानमा प्रवेशका लागि भारतीय नागरिक, साउथ एसियन र विदेशीहरु गरी टिकटमा फरक फरक रेट रहेछ । मुगल बादशाह शाहजहाँले भारत वर्षमा सन् १६२८ देखि १९५८ सम्म शासन गरेका थिए । उनी एक कलाप्रेमी राजा पनि थिए । इतिहासको संरक्षण र संवद्र्धनमा समेत उनको ध्यान थियो । उनले आÇनी प्यारी रानी मुमताज वेगमको सम्झनामा बनाएको ताजमहलको विश्वभरमा प्रशंसा रहेको छ । सन् १६३२ मा आफ्नी प्यारी रानीको स्वर्गवास भएपश्चात् उनले ताजमहलको निर्माण सुरु गरेका थिए । सन् १६१२ मा खुबसुरत वेगमको सुन्दरता देखेर लालायित बादशाहले लगनडोरी कसेका थिए । राजा मुमताजको प्यारमा यति निमग्न थिए कि हरेक पल उनकै साथमा बिताउँथे । राजकाजसम्बन्धी सबै फैसला समेत उनै रानीको सल्लाहमा जारी गर्दथे । सन् १६३१ मा १४ औं सन्तान जन्माउने बेलामा अधिक प्रसवपीडा र रक्तस्रावको कारण रानीको मृत्यु हुन पुग्यो । जुन बादशाहका लागि अत्यन्तै कारुणिक बन्न पुग्यो । रानीको मृत्युको पीडाले विच्छिप्त भएका उनी आफ्नो प्रेमलाई अमर बनाउने सपना देख्न थाले । फलस्वरुप ताजमहलको परिकल्पना हुन पुग्यो । जुन शाहजहाँ र मुमताज बीचको प्रेमको प्रतीक मानिन्छ । कलाकार अहमत लाहैरीको नेतृत्वमा सो शिल्पको निर्माण सन् १६५३ मा सम्पन्न भएको थियो । करिब ४२ एकड जमिनमा फैलिएको सो सम्पदा निर्माणमा दैनिक करिब २० हजार मजदुर प्रयोग भएका सो भारतीय वास्तुकलाको अद्भुत नमुना निर्माण गर्न तत्कालीन २० लाख अर्थात् हालको (८२७ डलर) करिब ५३ अरब भारतीय रुपैयाँ खर्च भएको थियो । विश्वको छुट्टै विशिष्टता र बेजोड नमुना रहेकोे सो कलाकृति निर्माण सम्पन्न भएपश्चात् सम्पूर्ण कलाकारहरुको हात काटेको तथ्य पनि सुन्नमा पाइन्छ । विश्वका विभिन्न आठ देशका सामग्रीहरुको संयोजन रहेको यो विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा बहुमूल्य सेतो सङ्गमर्मर रत्नले बनेको छ । निर्माणका क्रममा करिब २८ प्रकृतिका फरक फरक पत्थर र १५०० हात्तीहरुलाई समेत प्रयोग गरिएको थियो । भारतीय, इस्लामिक र मुगल शैलीमा निर्मित वास्तुकलाको अनुपम नमुनाका रुपमा यसलाई लिइएको छ । प्रेमको प्रतीकका रुपमा चिनिने सो ताजमहलले जहिल्यै मुमताज बेगम र शाहजहाँको प्रेम कहानीलाई सम्झाइरहने देखिन्छ । आफ्नी प्रिय रानीको स्मृतिमा ठूलो धनराशि खर्चेको भनेर आरोपित शाहजहाँलाई आफ्नै छोरा आंैरगेजबले अन्तिम समयमा बन्धक बनाएका थिए । यति धेरै प्राचीन कलाकृतिको नमुना हेरिसकेपछि हामी राति पुनः हरियाणा फर्केका थियौं ।
लोटस टेम्पल भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ । सन् १९८६ मा बनाइएको ३४ मिटर अग्लो सो टेम्पल सर्वसाधारणका लागि १३ नोभेम्बर १९८६ देखि खुला गरिएको रहेछ । बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्ने सो मन्दिरमा सबै धर्मावलम्बीहरुको लागि आवतजावत खुला गरिएको छ ।

(ख) लालकिल्ला

दिल्लीमा रहेको ऐतिहासिक एवम् प्राचीन अद्भुत सौन्दर्यले युक्त लालकिल्लाको कलाकृति मुगल सम्राट शाहजहाँले आफ्नै शासनकालमा सन् १६३८ मा निर्माण सुरु गरेका थिए । तीनतिरबाट यमुना नदीले घेरेको सो ठाउँमा विशाल किल्ला निर्माण सम्पन्न सन् १६४८ मा भएको थियो । जसरी ताजमहलको दुनियाभरमा प्रचारप्रसार भयो त्यसरी नै लालकिल्ला पनि प्रसिद्ध भयो । शाहजहाँले लालकिल्लालाई सुन्दर बनाउने उद्देश्यले सन् १९३८ मा नै राजधानी आगराबाट दिल्लीमा सारेका थिए । मुगल शासकहरुले करिब २०० वर्ष यहाँबाट शासन गरेका थिए । पछि शाहजहाँका छोरा औरंगजेबले सोही किल्लामा एक मोती मस्जिद पनि निर्माण गरेका थिए । सत्रौं शताब्दीमा जहंदर शाहले कब्जा गरेपछि करिब ३० वर्ष सो स्थान शासकविहीन अवस्थामा रहेको थियो । त्यसपछि नादिर शाह र सिख धर्मावलम्बीहरुले पनि त्यहाँबाट शासन सञ्चालन गरेको अभिलेख पाइन्छ । १८ औं शताब्दीमा अंग्रेजले आफ्नो अड्डाको रुपमा यसलाई परिचालन गर्दैै लुटपाट मच्चाएका थिए । लालकिल्लामा जडित महŒवपूर्ण हिरा र जुहारातहरु चोरी गरेका थिए । भारत स्वतन्त्र भएपछि भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुले सबैभन्दा पहिला सन् १९४७ अगस्त १५ मा यसै स्थानमा भारतको झन्डा फहराएर स्वतन्त्रताको सन्देश प्रवाह गरेका थिए । त्यसबेलादेखि हरेक वर्ष स्वतन्त्रता दिवसका अवसरमा झन्डा फहराउने चलन रहेको छ । करिब डेढ किलोमिटरमा फैलिएको यो सम्पदा करिब ३० मिटर अग्लो छ । हिन्दु, फारसी र मुगल शैलीको सम्मिश्रण यहाँ देख्न पाइन्छ । उस्ताद हामिद र उस्ताद अहमदले यसको निर्माण गरेका थिए । लालकिल्लाको भित्रपट्टि छाबरी बजार, लाहौरी गेट, दिल्ली गेट, रंग महल, दिवान ए आम, दिवाने खास, मोती मस्जिद, मुमताज महल, नौबत खाना, खस महल, हमाम, हिरा महल, चट्टा चौक आदि स्थानहरु रहेका छन् । रातो बालुवामा पत्थर मिसिएको हुनाले यसलाई लालकिल्ला नामकरण गरिएको हो । यो विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा हो । हप्ताका सबै दिन बिहान साढे नौ बजेदेखि साँढे चार बजेसम्म सर्वसाधारणका लागि यस ठाउँमा प्रवेश खुुल्ला गरिएको छ ।

(ग) कुतुब मिनार

हप्ताको सबैदिन खुल्ला हुने भारतको ऐतिहासिक एवम् पौराणिक महŒवको स्थल कुतुब मिनार हो । हरेक दिन बिहान ६ देखि बेलुका ६ बजेसम्म यहाँ प्रवेशमा छुट छ । भारत जाने प्रायः सबै पर्यटक यहाँ पुग्ने गर्छन् । भारतको सबैभन्दा अग्लो अर्थात् ७३ मिटर अग्लो मिनार कुतुब मिनार हो । यो दिल्लीको महरौलीमा रहेको छत्तरपुर मन्दिरको नजिकै रहेको छ । यसको निर्माण १२ औं देखि १३ औं शताब्दीमा शासन गर्ने फरक फरक शासकहरुबाट भएको मानिन्छ । सन् ११९३ मा यसको निर्माणको थालनी मुस्लिम शासक कुतुबुद्दीन ऐबकले गरेका हुन् । त्यसपछि उनका उत्तराधिकारी र दिल्लीका सुल्तानले क्रमशः पूरा गरेका हुन् । त्यसपछि सन् १३६८ मा अन्तिम भाग थप उचाइ दिने कार्य फिरोज शाह तुगलकले गरेका हुन् । सन् १५०८ को विनाशकारी भूकम्पले क्षतिग्रस्त मिनारको पुनर्निर्माण सिकंदर लोदीले गरेका हुन् । यसमा ३९७ ओटा सिंढी रहेका छन् । यो खासगरी बालुवा, मार्बल, संगमर्मर र ढुंगाको प्रयोगबाट बनेको छ । भारतीय इतिहासकारहरुका अनुसार करिब २७ वटा हिन्दु मन्दिरहरु तोडफोड गरेर यहाँ सामग्रीहरु ल्याइएको थियो । कुतुबको अर्थ न्यायका ध्रुव भन्ने हुन्छ ।

(घ) अक्षरधाम

दिल्ली घुम्न जाने नेपालीले अक्षरधामको लागि मात्रै १ दिन समय छुट्याउनुपर्ने नै रहेछ । प्रत्येक सोमबार मन्दिर प्रवेश बन्द गरिने सो मन्दिर आफैमा अनुपम सौन्दर्यले युक्त रहेको छ । हिन्दु धर्मदर्शनका अनुयायी स्वामी नारायणसँग सम्बन्धित त्यहाँको कलात्मक वस्तुस्थिति आफैमा सुन्दर र रमणीय रहेको छ । त्यसमाथि सशुल्क वाटर सो, संस्कृति विहार, नीलकण्ठयात्रा लगायतका स्थान र सो हेर्नैपर्ने रहेछ । ती सबै स्थान हेरिसकेपछि रोमाञ्चित मन नहुने बिरलै भेटिन्छन् । वाटर सो भने साँझको समयमा प्रदर्शन गरिँदो रहेछ । रात परेपछिको समयमा विद्युतीय प्रकाशको अदभुत दृश्य चित्र त्यहाँ देख्न पाइदो रहेछ । एउटा सो हेर्नकै लागि हजारौं दर्शकको उपस्थिति असाधारण नै लाग्यो । देशको धार्मिक क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि केही नभएको स्थानमा पनि धेरै गर्न सकिन्छ भन्ने कुरा अक्षरधाम पुगेपछि सजिलै विश्वास गर्ने आधारहरु सिर्जना हुन्छन् ।

(ङ) बिहारीलालको मन्दिर

मथुरामा रहेका चर्चित मन्दिरहरुमध्येको एक बिहारीलालको मन्दिर पनि हो । सधंैजसो भक्तजनको घुइँचो लाग्ने सो मन्दिर कृष्ण भगवान्सँग नै सम्बन्धित रहेको छ । मन्दिरको करिब पाँचसय मिटरदेखि नै मानिसको भीडमा हराउने संभावना बढी नै रहन्छ । खासगरेर केटाकेटी लिएर जाने अभिभावकहरुलाई सो मन्दिर प्रवेशमा समस्या नै रहेको छ । निकास सानो तर भीड ज्यादा हुने भएकाले आफ्नो सामानको सुरक्षामा पनि त्यतिकै ध्यान दिनुपर्ने देखिन्छ । भगवान् कृष्णको जन्मभूमिको विशेष स्थान मथुरामा रहेको सो मन्दिरमा सबै भक्तालुहरु आफ्नो तन, मन र धनले भगवान्को श्रद्धा गरेको देख्दा जोकोहीको मन प्रफुल्लित हुने गर्छ । त्यहाँ मन्दिरभित्र दर्शनका लागि छोटो र सजिलो बाटो पु¥याइदिन्छौं भनेर ठग्न खोज्नेहरुसँग पनि सतर्क रहनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा त मन्दिरबाट निस्कने बित्तिकै धेरै मानिसहरुको चश्मा बाँदरले खोसेर हैरानै पार्छन् । पावरवाला चस्मा प्रयोग गर्नेलाई त अधिक सावधानी अपनाउनुपर्ने देखिन्छ । हुन त केही युवकहरु त्यसलाई नै व्यवसाय बनाइरहेको देखिन्छ । उनीहरुले मागेको पैसा पाएमा बाँदरसँग चस्मा फुत्काउने काम गर्दा रहेछन् । थाहा नपाउने र नदेखिने गरी ती युवाहरु व्यापार गरेझैं देखिन्छ । बाँदरलाई फ्रुटी दिएर चस्मा माग्ने शैली आफैंमा रोमाञ्चक रहेको छ । समग्रमा भक्तालुहरुको भगवान् कृष्णप्रतिको अटुट आस्था र विश्वास आफैमा अनुपम सौन्दर्यले युक्त रहेको छ । त्यस क्षेत्रमा रहेका प्रसिद्ध प्रेम मन्दिर, वैष्णोदेवीको मन्दिर पनि हेर्नैपर्ने स्थान रहेका छन् ।